पहलगाम आतंकवादी हमलाः ओलीसँग टेलिफोन वार्तामा मोदीले भन्नु भयो दोषीलाई कठघरामा उभ्याउँछौं
काठमाडौं, २३ वैशाख । जम्मु(कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलामा संलग्न अपराधीलाई कानूनी कारबाही गरी कठघरामा उभ्याउने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले आज नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोन वार्तामा उक्त कुरा जोड दिएका छन् भने भारतीय विदेश मन्त्रालयले पनि यसबारे जानकारी दिएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार, ‘उक्त आतंकवादविरुद्धको लडाइमा भारत र नेपाल एकसाथ उभिएका छन्।’ प्रधानमन्त्री मोदीले पहलगाममा भएको आतंकवादी हमलामा एक युवा नेपाली नागरिकको मृत्यु भएको प्रति समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री मोदीसँग आतंकवादी हमलाबारे कुराकानी भएको बताएका छन्। उनले भने, ‘मैले आतंकवादी हमलामा ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै यस्ता जघन्य कृत्यप्रति नेपाल भारतको साथमा छ भनेको छु। साथै, नेपाली नागरिकको मृत्युमा समवेदना प्रकट गरेको प्रति धन्यवाद दिएको छु।’
पहलगामस्थित पर्यटकीय क्षेत्रमा मंगलबार भएको आतंकवादी हमलामा २६ जनाको ज्यान गएको थियो। उक्त आक्रमणमा परेर बुटवलका सुदीप न्यौपानेको समेत मृत्यु भएको थियो भने उनकी आमा घाइते भएकी छिन्।
यस घटनापछि प्रधानमन्त्री मोदीले आफ्नो साउदी अरब भ्रमण बीचमै रोक्दै भारत फर्किएका छन् र उच्चस्तरीय सुरक्षा बैठकमा सहभागी भएका छन्। भारतीय गृह मन्त्री अमित शाहले श्रीनगरमा आतंकवादविरुद्धको रणनीति र अनुसन्धानमा तीव्रता ल्याउन निर्देशन दिएका छन्।
विश्वका विभिन्न नेताहरूले पनि यस आतंकवादी हमलाको कडा निन्दा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्रिटेनका प्रधानमन्त्री कियर स्टारमर, इजरायलका प्रधानमन्त्री बेंजामिन नेतन्याहू लगायतले भारतसँग एकजुटता जनाएका छन्। साथै, साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले पनि प्रधानमन्त्री मोदीलाई फोन गरी सहयोगको प्रस्ताव गरेका छन्।
नेपाल सरकारले पनि आतंकवादी घटनाप्रति कडा निन्दा गर्दै भारतसँग पूर्ण सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। घटनामा परेकाहरूलाई आवश्यक सहयोग पुर्याउन नेपाल र भारतबीच समन्वय भइरहेको छ।
यो आतंकवादी घटना पहलगाम क्षेत्रको शान्ति र पर्यटनमा ठूलो धक्का भएको छ। स्थानीय समुदाय र पर्यटन व्यवसायीहरूले पनि यस घटनाको कडा निन्दा गर्दै सरकारसँग सुरक्षा व्यवस्था कडा गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री मोदीले भनेका छन्, “यो जघन्य कृत्यको दोषीहरूलाई न्यायको कठघरामा उभ्याइनेछ र आतंकवाद विरुद्धको हाम्रो सङ्घर्ष अझ दृढ हुनेछ।”
