ट्रम्पको अमेरिका ‘स्वार्थी’ छ: पूर्व उपराष्ट्रपति ह्यारिस

एजेन्सी, १८ वैशाख । पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरको चुनावी हारपछि आफ्नो पहिलो प्रमुख सार्वजनिक सम्बोधनमा डोनाल्ड ट्रम्प र उहाँका समर्थकहरूको कडा आलोचना गर्नुभएको छ।

बुधबार एक कार्यक्रममा बोल्दै, पराजित डेमोक्रेट नेतृ ह्यारिसले विगत तीन महिनामा देखिएको ‘अराजकता’ लाई कन्जरभेटिभहरूको लामो समयदेखिको योजनाको कार्यान्वयन बताउनुभयो। उहाँले ट्रम्पले संयुक्त राज्य अमेरिकालाई आफ्नो व्यक्तिगत फाइदाका लागि प्रयोग गरिरहेको आरोप लगाउनुभयो।

“वास्तवमा, हामीले जे देखिरहेका छौं, त्यो दशकौंदेखि बनाइएको एजेन्डालाई तीव्र गतिमा लागू गर्ने माध्यम हो,” उहाँले सान फ्रान्सिस्कोमा भन्नुभयो, “यो सार्वजनिक शिक्षामा कटौती गर्ने, सरकारलाई खुम्च्याएर सेवाहरू निजीकरण गर्ने, अति धनीलाई कर छुट दिने एजेन्डा हो। यो अमेरिकाको एउटा साँघुरो, स्वार्थी दृष्टिकोण हो, जहाँ सत्य बोल्नेलाई दण्डित गरिन्छ, वफादारलाई पक्षपोषण गरिन्छ, शक्तिको दुरुपयोग हुन्छ र सबैलाई आफ्नै हालमा छोडिन्छ।”

ट्रम्पको कार्यकालको पहिलो सय दिन आप्रवासन, विदेश सहायतालगायतका विषयमा ल्याइएका कार्यकारी आदेशहरूले भरिएको थियो। आलोचकहरूले उनको प्रशासनलाई लोकतान्त्रिक र संवैधानिक मान्यताहरूको अवहेलना गर्ने प्रतिशोधात्मक कदम भनेका छन्, जबकि समर्थकहरूले केही द्रुत परिवर्तनको प्रशंसा गरेका छन्। यद्यपि, हालैका सर्वेक्षणहरूले अधिकांश अमेरिकी राजनीतिक र आर्थिक अस्थिरता, विशेषगरी बारम्बार परिवर्तन हुने भन्सार महसुलप्रति निराश हुँदै गएको देखाएका छन्।

आफ्नो गृहराज्य क्यालिफोर्नियाको गभर्नर (२०२६) वा ह्वाइट हाउस (२०२८) को सम्भावित दौडमा देखिनुभएकी ह्यारिस जनवरीमा वासिङ्टन छाडेपछि प्रायः सार्वजनिक चर्चाबाट टाढै रहनुभएको थियो। बुधबार उहाँ डेमोक्रेटिक महिलाहरूलाई सार्वजनिक पदमा ल्याउन तालिम दिने संस्था ‘इमर्ज’ द्वारा आयोजित कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो।

उहाँले उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै ट्रम्पले विपक्षीहरूलाई तर्साउन विश्वविद्यालय र अदालतहरूलाई निशाना बनाइरहेको बताउनुभयो। “राष्ट्रपति ट्रम्प र उहाँका सहयोगीहरू डर सङ्क्रामक हुन्छ भन्ने सोचमा छन्,” उहाँले भन्नुभयो, “उनीहरूलाई लाग्छ कि केही मानिसलाई तर्साउन सके अरू स्वतः निरुत्साहित हुनेछन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *