पुलिस क्लब एमएम कप क्रिकेटको फाइनलमा

काठमाडौँ, १८ वैशाख । विभागीय टोलि नेपाल पुलिस क्लब बिहिबार आसाम क्रिकेट क्लबलाई छ विकेटले हराएर एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । फाइनलमा पुलिसले अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबसँग खल्नेछ । पुलिस समुह ’बि’ को विजेता बन्दा आसाम र कोशी प्रदेश भने बाहिरिएका छन्। समुह ’ए’ को विजेताको रुपमा आर्मी यस अघिनै फाइनल प्रवेश गरिसकेको छ ।

बिराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा भएको खेलमा पुलिसले फाइनल पुग्न आसामले दिएको १५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने थियो। पुलिसले २६. १ ओभरमा ४ विकेट मात्र गुमाएर जित दर्ता गर्यो ।

पुलिसका लागि अमित श्रेष्ठ र कप्तान शंकर रानाले अविजित रहँदै अर्धशतकीय योगदान दिए। अमितले ७२ बलमा ५ चौका र ३ छक्का मद्दतले ७१ रन बनाए । यस्तै छैठौं नम्बरमा ब्याटिंग गरेका शंकरले ६७ बलमा ४ चौका र ४ छक्का मद्दतले ६३ रन बनाए । आसामका लागि गोकुल शर्माले सर्वाधिक तीन र चिरन्तन खात्तिनियरले एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको आसामले ४२. २ ओभरमा १५४ रनमा सबै विकेट गुमाएको थियो । आसामका लागि ओपनर राज विश्वले सर्वाधिक ३३ रन योगदान दिए । यस्तै अरुण सोनारले ३१, केभिन संजिवले २३ तथा हियम कश्यपले १९ रन बनाए। पुलिसको बलिङमा देब्रे हाते स्पिनर अरुण ऐरी र दायाँ हाते पेसर श्रवन यादवले तीन÷तीन विकेट लिए।