दिल्लीमा आँधीबेहरीसहित भारी वर्षा: घर भत्किँदा ४ को मृत्यु, १०० भन्दा बढी उडान प्रभावित
काठमाडौं, १९ वैशाख । भारतको राजधानी दिल्लीमा शुक्रबार बिहान आँधीबेहरीसहित भारी वर्षा भएको छ । वर्षाका कारण दिल्लीको नजफगढ क्षेत्रमा एक घर भत्किँदा तीन बालबालिका र एक महिला गरी चार जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, दिल्ली अग्नि नियन्त्रण सेवालाई बिहान करिब ५:२५ बजे नजफगढको खरखारी नाहर गाउँमा घर भत्किएको खबर आएको थियो । तत्काल घटनास्थल पुगेको उद्धार टोलीले भग्नावशेषबाट चार जनालाई निकालेर अस्पताल पुर्याए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए ।
भारी वर्षा र तीव्र हावाहुरीले दिल्ली विमानस्थलको सेवा पनि नराम्ररी प्रभावित भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, १०० भन्दा बढी उडानहरूमा ढिलाइ भएको छ भने दिल्लीमा अवतरण गर्ने तालिका रहेका तीनवटा उडानलाई अन्यत्र डाइभर्ट गरिएकाे छ । दुई उडान जयपुर र एउटा अहमदाबादतर्फ डाइभर्ट गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडले सामाजिक सञ्जाल एक्समार्फत विमानस्थल पूर्ण रूपमा सञ्चालनमा रहे पनि खराब मौसमका कारण केही उडान सञ्चालन प्रभावित भएको जनाएको छ ।
वर्षाका कारण दिल्ली तथा राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) का विभिन्न ठाउँमा पानी जमेको छ, धेरै रुखहरू ढलेका छन् र मानिसहरूले व्यापक ट्राफिक जामको सामना गर्नुपरेको छ ।
