भारतको पाकिस्तानमाथि मिसाइल आक्रमण: ‘अपरेसन सिन्दूर’
काठमाडौँ, २४ वैशाख । गत अप्रिलमा काश्मिरमा भएको २६ जना हिन्दूको हत्याको बदलामा भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘अपरेसन सिन्दूर’ नाम दिइएको यस आक्रमणमा पाकिस्तान प्रशासित काश्मिर लगायतका क्षेत्रमा भारतीय मिसाइल प्रहार भएका छन् ।
पाकिस्तानले तीन वटा मिसाइल प्रहार भएको दाबी गर्दै तत्काल प्रतिआक्रमण गर्ने चेतावनी दिएको छ । भारतले भने आक्रमणको प्रकृतिबारे औपचारिक जानकारी दिएको छैन । तर, भारतीय सञ्चारमाध्यमहरूले भने पाकिस्तानका नौ वटा आतंकवादी शिविर ध्वस्त भएको दाबी गरिरहेका छन् ।
आक्रमणमा भएको मानवीय क्षति तथा अन्य विस्तृत विवरण अझै प्राप्त भएको छैन । स्थिति तनावपूर्ण रहेको र थप विकासको पर्खाइमा रहेको बताइएको छ ।
