पाकिस्तानमाथिको भारतीय हमला खेदजनक, संयमता अपनाउन चीनको आग्रह
बेइजिङ,२४ वैशाख । चीनले भारतीय सेनाद्वारा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रमा गरिएको हवाई हमला, जसलाई ‘अपरेशन सिन्दूर’ नाम दिइएको छ, त्यसप्रति खेद व्यक्त गरेको छ। बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले उक्त सैन्य कारबाहीप्रति चिन्ता व्यक्त गर्दै भारत र पाकिस्तान दुवैलाई संयमता अपनाउन आग्रह गरेकी हुन्।
भारतले पाकिस्तानविरुद्ध हवाई हमला गरेपछि विश्वका विभिन्न देशबाट प्रतिक्रिया आउने क्रम जारी छ। यहीक्रममा चीनले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।
दक्षिण एसियाका दुई प्रतिद्वन्द्वी मुलुकहरूबीच बढ्दो तनावबारे सोधिएको प्रश्नमा प्रवक्ता माओले भनिन्, “चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई खेदजनक मानेको छ। चीन हालको परिस्थितिप्रति चिन्तित छ।”
उनले भारत र पाकिस्तान एकअर्काका मात्र नभई चीनका पनि छिमेकी मुलुक भएको स्मरण गराउँदै भनिन्, “भारत र पाकिस्तान एक-अर्काका छिमेकी हुन् र सधैं रहिरहनेछन्। ती दुवै चीनका पनि छिमेकी मुलुकहरू हुन्।”
चीनले सबै प्रकारका आतंकवादको विरोध गर्ने अडान दोहोर्याउँदै प्रवक्ता माओले थपिन्, “चीन सबै प्रकारका आतंकवादको विरोध गर्छ। हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको बृहत्तर हितका लागि सोच्न, शान्त रहन, संयमता अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउने कुनै पनि कदम चाल्नबाट जोगिन आग्रह गर्छौं।”
यो घटनाक्रमले दक्षिण एसियाली क्षेत्रको स्थायित्वमा थप चुनौती उत्पन्न गरेको छ र अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट नियालिरहेको छ।
