नेप्से परिसूचकमा उत्साहजनक सुधार, कारोबार रकम पनि बढ्यो
काठमाडौँ, २६ वैशाख । नेप्से परिसूचकमा आज उत्साहजनक सुधार देखिएको छ । आज नेप्से परिसूचक ५५ दशमलव १५ अङ्कले वृद्धि भई दुई हजार छ सय दश दशमलव ५० को विन्दुमा पुगेको छ । यो २ दशमलव १५ प्रतिशतको बढोत्तरी हो ।
आज नेप्सेमा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भई करिब नौ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । कूल दुई सय ९५ कम्पनीको दुई करोड ५५ लाख ३० हजार कित्ता शेयर ९५ हजार दुई सय पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ८० करोड ५० लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका सबै समूहका उपसूचक हरियाली भएका छन् । सबैभन्दा बढी वित्त समूह ५ दशमलव २५ प्रतिशत र जलविद्युत् समूह ३ दशमलव ०५ प्रतिशतले बढेका छन् । बैंकिङ २ दशमलव ५५, विकास बैंक २ दशमलव २०, होटल तथा पर्यटन १ दशमलव ६५, लगानी शून्य दशमलव ९० र जीवन बिमा समूह २ दशमलव ३० प्रतिशतले वृद्धि भएका छन् ।
त्यस्तै, उत्पादन तथा प्रशोधन १ दशमलव १०, लघुवित्त २ दशमलव १५, म्युचुअल फण्ड शून्य दशमलव ६०, निर्जीवन बिमा २ दशमलव ५०, व्यापार शून्य दशमलव ६० र अन्य समूह २ दशमलव ४० प्रतिशतले उकालो लागेका छन् ।
सूर्योदय भाेभि लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी माउन्टेन एनर्जी नेपाल लिमिटेडको शेयर मूल्य ४ दशमलव २० प्रतिशतले ओरालो लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको रू ५५ करोड १० लाख बराबरको शेयर किनबेच भएकाे छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो, जसको १३ लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भयो ।