भारतले पाकिस्तानमा गरेको आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो

एजेन्सी, २५ वैशाख । भारतले पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। भारतले पाकिस्तानका नौवटा ठाउँलाई लक्ष्य गरेर मिसाइल आक्रमण गरेको थियो।

आक्रमणमा परी ३१ जना पाकिस्तानी नागरिकहरुको मृत्यु भएको त्यहाँको सेनालाई उद्धत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। आक्रमणमा ४६ जना घाइते भएको पनि सेनाका प्रवक्ताले बताएका छन्।

भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेपछि पाकिस्तानको सेनाले जम्मू-कश्मिरको सिमा क्षेत्र लाइन अफ कन्ट्रोलमा बमबारी गर्दा १० जना भारतीय नागरिकको मृत्यु भएको बताइएको छ।

भारतले पहलगाममा भएको आतंकवादी हमलाको जबाफस्वरूप पाकिस्तानमा हवाई आक्रमण गरेको बताएको छ। आक्रमणलाई उसले ‘अपरेसन सिन्दुर’ नाम दिएको छ।

भारतले गरेको आक्रमणको जबाफ पाकिस्तानले दिने घोषणा गरिसकेको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले बुधबार अबेर गरेको सम्बोधनमा भारतले ठूलो गल्ती गरेको र त्यसकाे जबाफ दिने बताएका छन् ।

‘भारतले हिजो राति गरेको ठूलो गल्तीको मूल्य अब उसले चुकाउनुपर्नेछ। उनीहरूलाई हामी पछि हट्छौं भन्ने लागेको होला तर यो वीर मानिसहरूको देश हो, उनीहरुको संकल्प फलामजस्तै दृढ छ,’ प्रधानमन्त्री शरिफले भनेका छन्।

भारतले पनि पाकिस्तानले आक्रमण गरेको खण्डमा त्यसको जबाफ दिने बताएका छन् ।