राष्ट्रपतिबाट ‘मेरो भ्वाइस’, ‘मेरो डान्स’का प्रतिस्पर्धीलाई स्वागत

 

काठमाडौँ, वैशाख २५ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का विभिन्न देशबाट आएका प्रतिस्पर्धीलाई आज शीतल निवासमा स्वागत गरेका छन्। इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा सञ्चालित यी रियालिटी शोका प्रतिस्पर्धीलाई स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाली संस्कृतिको संरक्षणमा भूमिका निर्वाह गर्न आग्रह गरे।

उनले विश्वभरिका प्रतिस्पर्धीलाई सांस्कृतिक दूतको संज्ञा दिँदै इन्ट्रा फाउण्डेसनको प्रयासको प्रशंसा गरे। नेपाल टेलिभिजनबाट ‘मेरो भ्वाइस युनिभर्स’ बिहीबार र शुक्रबार तथा ‘मेरो डान्स युनिभर्स’ आइतबार र सोमबार प्रसारण भइरहेको छ।

इन्ट्रा फाउण्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले विश्वभरका नेपालीलाई सांस्कृतिक रूपमा एकताबद्ध गरी नेपालसँग जोड्ने फाउण्डेसन अध्यक्ष डिल्ली अधिकारीको सपना यी रियालिटी शोले साकार पारेको बताए। उनका अनुसार ६० देशका नेपाली यी कार्यक्रमसँग जोडिएका छन् भने २३ देशबाट प्रतिभाहरू नेपाल ल्याइएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *