न्युजिल्यान्डमा भेडाको सङ्ख्या घट्दै, मानिसभन्दा अझै बढी

 

वेलिङ्टन, २५ वैशाख । न्युजिल्यान्डमा लामो समयदेखि मानिसभन्दा भेडाको सङ्ख्या बढी रहे पनि पछिल्ला तथ्याङ्कले भेडाको सङ्ख्यामा उल्लेखनीय कमी आएको देखाएको छ। सरकारी तथ्याङ्क निकाय स्ट्याट्स एनजेडले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार हाल देशमा करिब ५३ लाख मानिस र २ करोड ३६ लाख भेडा छन्। यसको अर्थ प्रति न्युजिल्यान्डवासी करिब ४.५ भेडा मात्रै छन्।

सन् १९८२ मा यो सङ्ख्या प्रतिव्यक्ति २२ भेडा थियो। त्यतिबेला मासु र ऊन उत्पादन न्युजिल्यान्डको प्रमुख आम्दानीको स्रोत थियो। तर सिन्थेटिक फाइबरको बढ्दो प्रयोग र ऊनको मूल्यमा गिरावटले भेडापालन व्यवसायमा ठूलो असर परेको छ। फेडरेटेड फार्मर्सका प्रवक्ता टोबी विलियम्सका अनुसार ऊन उद्योग संकटको अवस्थामा पुगेको छ। धेरै किसानहरू डेरी वा कार्बन अफसेट जस्ता नाफामूलक व्यवसायतर्फ आकर्षित भएका छन्, जसका कारण भेडा पाल्ने क्षेत्र घट्दै गएको छ।

भौगोलिक क्षेत्रफलको हिसाबले बेलायत जत्तिकै भए पनि न्युजिल्यान्डको जनसङ्ख्या बेलायतको भन्दा १३ गुणा कम छ। यद्यपि, १५० वर्षभन्दा बढी समयदेखि न्युजिल्यान्डको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा रहेको भेडापालन उद्योगमा अब ठूलो परिवर्तन आइरहेको छ। ‘लर्ड अफ द रिङ्ग्स’ जस्ता चलचित्रले पर्यटनमा बढोत्तरी ल्याए पनि, विश्वव्यापी ऊनको मूल्यमा आएको गिरावटले भेडाको सङ्ख्यामा निरन्तर कमी आइरहेको छ। हाल डेरी उद्योग न्युजिल्यान्डको कृषि निर्यात बजारमा अग्रस्थानमा छ।

सन् २०२३ मा प्रतिव्यक्ति पाँच भन्दा कम भेडाको सङ्ख्या पहिलो पटक रेकर्ड भएको थियो भने सन् २०२४ को जुनसम्ममा १० लाख भेडा घटेको छ। सरकारले भेडाको सङ्ख्या घट्न नदिन कार्बन वनमा रूपान्तरण गर्न सकिने खेतीयोग्य जमिनको सीमा तोक्ने र नयाँ सार्वजनिक भवनहरूमा न्युजिल्यान्डको ऊन उत्पादन प्रयोग गर्न आग्रह गर्ने जस्ता उपायहरू अवलम्बन गरेको छ। तर यी उपायहरूले भेडाको घट्दो सङ्ख्या रोक्न सक्छन् वा सक्दैनन् भन्ने कुरा भविष्यले मात्रै देखाउनेछ। छिमेकी अष्ट्रेलियामा पनि यस्तै प्रवृत्ति देखिएको छ, जहाँ प्रतिव्यक्ति करिब तीन भेडा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *