भारतको सामाजिक सञ्जाल प्रतिबन्धप्रति आलोचना बढ्दो
काठमाडौं,२६ वैशाख । भारतका प्रमुख मानवअधिकार अभियन्ता अर्जुन सेठीले भारत सरकारले हजारौं सामाजिक सञ्जालका खाताहरू प्रतिबन्ध गरेको कदमको कडा आलोचना गरेका छन्।
जर्जटाउन विश्वविद्यालयका निगरानी प्रणाली विज्ञ समेत रहेका सेठीले भारत सरकारलाई ‘डिजिटल अधिनायकवादको विश्व अगुवा’ को संज्ञा दिएका छन्।
भारत सरकारले सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई आठ हजारभन्दा बढी खाता निलम्बन गर्न आदेश दिएको थियो। यो आदेश पाकिस्तानसँग बढ्दो तनावको बीचमा आएको मानिएको छ। एक्सले यस निर्णयलाई ‘सरकारी सेन्सरसिप’ भन्दै अनिच्छापूर्वक पालना गर्नुपरेको स्वीकार गरेको छ।
अलजजिरा समाचारका अनुसार प्रतिबन्धित खाताहरूमा मानवअधिकारकर्मी, पत्रकार र अन्तर्राष्ट्रिय समाचार संस्थाहरू समेत रहेका छन्। यसअघि पनि भारत सरकारले केही समाचार संस्था र दर्जनौं पाकिस्तानी युट्युब च्यानलहरूलाई उत्तेजक सामग्री प्रसारण गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो।
हिन्दुस्तान टाइम्सका अनुसार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम खाता पनि प्रतिबन्धित गरिएको छ। विज्ञहरूले भारतको यो कदमले अभिव्यक्ति स्वतन्त्रता र डिजिटल अधिकारमाथि गम्भीर आघात पुगेको टिप्पणी गरेका छन्।
