भारत-पाकिस्तान तनावको प्रभाव: चिनियाँ नागरिकलाई सीमामा नजान दूतावासको चेतावनी
काठमाडौँ, २६ वैशाख। भारत र पाकिस्तानबीच बढ्दो तनावले काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई नेपाल-भारत सीमा क्षेत्रमा नजान र विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
दूतावासले विज्ञप्ति जारी गर्दै नेपाल र भारतबीच खुला सिमाना भए पनि चिनियाँलगायत तेस्रो देशका नागरिकलाई भिसाविना भारतीय भूभागमा प्रवेशमा प्रतिबन्ध रहेको स्मरण गराएको छ। भूलवश बिनाभिसा भारत प्रवेश गरेमा २ देखि ८ वर्षसम्म कैद र जरिवाना हुन सक्ने तथा जमानत पाउनसमेत कठिन हुनेतर्फ सचेत गराइएको छ।
दूतावासले आफ्ना नागरिकलाई नेपाली गाइडहरूलाई आँखा चिम्लिएर विश्वास नगर्न, भारतीय सीमा चौकी र सवारी साधनको फोटो नखिच्न तथा भारतमा रहँदा पनि अनुमति नभएका स्थानमा नजान सुझाएको छ।
नेपालबाट भारत जानैपर्ने भए पूर्वभिसा लिन पनि आग्रह गरिएको छ। सूचनामा नेपाली र भारतीय सुरक्षा अंगले सीमामा जाँच बढाएको र संयुक्त गस्ती गरिरहेको पनि उल्लेख छ, साथै भारतीय पक्षले सीमाका संवेदनशील क्षेत्रमा नियन्त्रण र जाँच बढाएको जनाइएको छ।