एन्फाले आफ्नै निर्णय बदर गर्दै धीरेन्द्रमाथिको प्रतिबन्ध हटायो

काठमाडौँ, ३० वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मङगलबार बी डिभिजन क्लब सरस्वती क्लबका स्ट्राइकर धीरेन्द्रबहादुर शाहमाथि लगाएको अनिश्चितकालीन प्रतिबन्ध हटाएको छ ।

यसअघि एन्फाको प्रतियोगिता समिति र अनुशासन समितिले गत चैत १५ गते नयाँ बस्ती युथ क्लबको उजुरीमा छानवीन गरेको भन्दै धीरेन्द्रले टुसाल युथ क्लब र सरस्वती युथसँग सम्झौता गरेको देखिएको हुनाले उहाँलाई बाँकी खेल खेल्नबाट निलम्बन गरेको थियो । एन्फाले सो निर्णय बदर गरेको हो ।

यसअघि एन्फाको सो निर्णय गलत भएको भन्दै सरस्वती क्लब विरोधमा उत्रेको थियो । सरस्वती क्लबले एन्फाले तोकेको सबै प्रक्रिया पुरुी गरी आफ्नो क्लबका खेलाडी धीरेन्द्रलाई सन् २०७९ मा टुसाल क्लबसँग गरेको समझौतालाई अधार बनाएर सत्यतथ्य पाखा लगाई होनहार खेलाडीको खेल जीवनलाई समाप्त पारेको आरोप लगायो । सरस्वतीले एन्फाको यस गलत निर्णयबाट कञ्चनपुरबाट फुटबलमा आफ्नो भविष्य बनाउने लक्ष्य बोकेको धीरेन्द्र गल्ती विना निलम्बनमा परेपछि मानसिकरुपमा विक्षिप्त बनेको भन्दै प्रेस विज्ञप्ति पनि जारी गरेको थियो ।

सरस्वती क्लबका अनुसार धीरेन्द्रको टुसालसँगको सम्झौता २०८० मै सकिएको र सो समय गरेको सम्झौतामा उल्लेख भएको २० प्रतिसत किस्ता नै अहिलेसम्म धीरेन्द्रले नपाएको हुँदा सो करार स्वतः निस्क्रिय हुन्छ ।

एन्फाले मङगलबार आफ्नो गल्ती सच्चाउँदै सरस्वतीलाई पत्र पठाएर धीरेन्द्र खेल्न योग्य रहेको जानकारी दियएको छ । धीरेन्द्रले अब बी डिभिजन लिगमा बाँकी रहेको तीन खेल खेल्न पाउने भएका छन्। सरस्वतीले मङगलबार नै वीरगञ्ज युनाइटेडसँग खेल्दैछ ।

एन्फाको यस निर्णयपछि सरस्वतीबाट खोसिएको तीन अंक पनि फिर्ता भएको छ । जसले सरस्वतीको १० खेलबाट १३ अंक भएको छ । एन्फाको कारावहीमा पर्नुअअघि २२ वर्षीय धीरेन्द्रले दुई खेलमा तीन गोलसहित सरस्वतीलाई लगातार दुई जित दिलाएका थिए ।