आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट

हङकङलाई वर्षाले धोका दिएपछि विश्वकप एसिया छनोटको सुपर थ्रीमा नेपाल

काठमाडौँ, २ जेठ । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ । जसले नेपालको विश्वकपको ग्लोबल छनोटमा पुग्ने समभावना कायम रह्यो ।

नेपाल सुपर थ्रीमा पुग्नुमा भाग्यको पनि साथ रह्यो । हङकङ र बहराइनबीचको शुक्रबारको खेल वर्षाले रद्द भएपछि नेपाल बढी जित निकालेको आधारमा अगाडि बढेको हो । हङकङ अपराजित रहेर पनि वर्षा बाधक बनेपछि अगाडि बढ्न सकेन । हङकङको चारमध्ये तीन खेल वर्षाले रद्द भएको थियो । हङकङले नेपालसँगको दोस्रो खेलमा जित हात पारेको थियो ।

समूह चरण सकिँदानेपाल र हङकङको समान पाँच–पाँच अङक भएको थियो । नेपाल दुई जितसहित अगाड बढ्यो । नेपालले बहराइनलाई दुवै खेलमा पराजित गरेको थियो ।

नौ टिम सहभागी महिला टी–२० विश्वकप एसिया छनोटलाई तीन टिमको तीन समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहबाट शीर्ष टोली सुपर थ्री मा पुगेका छन् । अब सुपर थ्रीमा एकअर्कासँग खेलेपश्चात् शीर्ष २ टोली विश्वकप ग्लोबल छनोटमा पुग्ने छन् । नेपालले अब सुपर थ्रीमा यूएई र थाइल्याण्डसँग खेल्नेछ ।