रूस र युक्रेनबीच इस्तानबुलमा वार्ता, तर ठोस प्रगतिको आशा कम

एजेन्सी, २ जेठ । मस्को र किएभका प्रतिनिधिमण्डलहरू शुक्रबार इस्तानबुलमा भेटवार्ता गर्दैछन्। यो सन् २०२२ मा युक्रेन द्वन्द्व सुरु भएयता दुई पक्षबीच हुन लागेको सम्भावित पहिलो प्रत्यक्ष बैठक हो। तथापि, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अनुपस्थिति र वार्ताअघि दुवै पक्षबाट भएका कडा आरोप-प्रत्यारोपले युद्ध अन्त्य गर्ने दिशामा ठोस प्रगतिको सम्भावनालाई अत्यन्तै न्यून बनाएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मस्कोले वार्ताका लागि तल्लो तहको (लो-प्रोफाइल) प्रतिनिधिमण्डल पठाएको र बिहीबारका लागि प्रारम्भिक रूपमा निर्धारित वार्ताअघि दुवै पक्षले एकअर्कालाई अपमान गरेको भन्दै शान्ति वार्ताबाट खासै अपेक्षा गर्न नसकिने स्पष्ट पार्नुभएको छ। “म स्पष्ट हुन चाहन्छु… भोलि के हुनेछ भन्ने बारेमा हाम्रो उच्च अपेक्षा छैन,” रुबियोले भन्नुभयो।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पुटिनसँग आफ्नो प्रत्यक्ष भेट नभएसम्म युद्ध अन्त्य गर्ने दिशामा कुनै प्रगति नहुने भन्दै टर्कीमा हुने वार्ताबाट खासै उपलब्धि हासिल नहुने सङ्केत गर्नुभएको थियो। “मलाई लाग्दैन कि तपाईंलाई मन परोस् वा नपरोस्, उहाँ (पुटिन) र म एकसाथ नआउँदासम्म केही पनि हुनेछैन,” ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूलाई बताउनुभयो।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पनि मस्को युद्ध अन्त्य गर्न ‘गम्भीर नभएको’ आरोप लगाउँदै आफूले वार्ताबाट कुनै सफलताको अपेक्षा नगरेको बताउनुभयो। गत हप्ता पुटिनले दुई पक्षबीच प्रत्यक्ष वार्ताको प्रस्ताव राख्नुभएको थियो, तर जेलेन्स्कीले पुटिनलाई व्यक्तिगत रूपमा वार्तामा उपस्थित हुन चुनौती दिएपछि पुटिनले कुनै प्रतिक्रिया दिनुभएको थिएन, जसले गर्दा वार्ताको गम्भीरतामाथि प्रश्न उठेको छ।

रूसी पक्षको नेतृत्व पुटिनका कट्टर सल्लाहकार भ्लादिमिर मेडिन्स्कीले गरिरहनुभएको छ। मेडिन्स्कीले यसअघि युक्रेनको अस्तित्वको अधिकारमाथि नै प्रश्न उठाउनुभएको थियो र सन् २०२२ मा युद्धको सुरुवातमा भएको असफल वार्ताको पनि उहाँले नै नेतृत्व गर्नुभएको थियो। युक्रेनको प्रतिनिधिमण्डलको नेतृत्व भने रक्षामन्त्री रुस्तम उमरोभ र करिब एक दर्जन उप-स्तरीय अधिकारीहरूले गर्नेछन्।

दुवै पक्षबाट उच्चस्तरीय राजनीतिक नेतृत्वको अभाव र वार्ताअघिको तिक्ततापूर्ण वातावरणले इस्तानबुल वार्ताले युद्ध अन्त्यका लागि कुनै ठोस मार्गचित्र कोर्न सक्नेमा शङ्का उत्पन्न गराएको छ।