सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौँ, ४ जेठ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ भने कारोबार रकममा वृद्धि भएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.८३ अंक, फ्लोट इण्डेक्स ०.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंकले घटेका छन्।

नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत बिहीबार ७ अर्ब ८ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ३०९ कम्पनीको ७९ हजार ८९३ पटकको कारोबारमा ८ अर्ब ५० करोड ९२ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ६९ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। ओम मेगाश्री फर्मास्यूटिकल्स र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो। यस्तै, विन नेपाल लघुवित्तको ९.५३ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ८.४१ प्रतिशत र बाराही हाइड्रोपावरको शेयरमूल्य करिब ७.३२ प्रतिशतले बढेको छ। उता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ८.७१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ७० करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५१ करोडभन्दा बढी र राधी विद्युत कम्पनीको करिब साढे ४८ करोडको शेयर किनबेच भयो।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ३ वटाको परिसूचक बढेको छ भने १० वटाको घटेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.१९ प्रतिशत र लघुवित्त उपसमूहको १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।