सिन्धु साहित्य संगमको मासिक चौथो भर्चुअल श्रृंखला सम्पन्न

काठमाडाैं, ४ जेठ । सिन्धुपाल्चाेक जन्मथलाे भएर काठमाडाैं उपत्यकामा रहेका सिन्धुपाल्चाेकका साहित्यकारहरूले भर्चुअलरूपमा साहित्यिक मासिक चौथो श्रृंखला सम्पन्न गरेकाे छ ।

महिनाकाे हरेक पहिलो शुक्रबार साँझ हुने सङ्गमको सिर्जना वाचन चौथो श्रृङ्खला सम्पन्न भएको हाे । सो कार्यक्रमको संयोजकत्व साहित्यकार डा. कृष्ण सुवेदी भारद्वाज मित्रले गर्नुभएको थियो भने विशेष अतिथि साहित्यकार पुराना राजनीतिज्ञ जयराम पराजुली र अर्का विशेष अतिथि वरिष्ठ साहित्यकार महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने रहनुभएकाे थियाे ।

अतिथि तथा कविहरूलाई स्वागत एवं कार्यक्रम सञ्चालन कवि त्रिलोचन आचार्यले गर्नुभएको थियो भने कार्यक्रममा सिन्धुका बरिष्ठ साहित्यकारहरु एवं कविहरू रमेश पौडेल, शिवप्रसाद पौडेल, राधाकृष्ण श्रेष्ठ, लक्ष्मण तिमिल्सिना, तोयनाथ तिवारी, दीपेन्द्र श्रेष्ठ, राधिका सापकोटा, राजेन्द्रप्रसाद भट्टराइ (रापि बाशिष्ठ), रामहरि भण्डारी, शोभा आचार्य, रत्न उप्रेति, दिनेश दुलालले गीत कविता वाचन एवं शुभकामना प्रदान गर्नुभएको थियो ।

साथै वरिष्ठ साहित्यकार तथा कवि जगन्नाथ आचार्यले जननेता मदन भण्डारीले लेख्नु भएका कविता तथा मदन भण्डारी सम्बन्धी जगन्नाथ आचार्य स्वयंले लेख्नु भएका कविता प्राविधिक समस्याका कारण भर्चुअल माध्यमबाट सुनाउन नसक्नुभएको कारण टेलिफोन मार्फत सुनाउनुभएको थियो । यस कार्यक्रमको प्रारम्भमा कवि रमेश पौडेलले गजल सुनाएर कार्यक्रमको प्रारम्भ गर्नुभएको थियो ।

कवि शिव प्रसाद पौडेलले बाह्रबिसेका बाह्र हरफ कविता, राधाकृष्ण श्रेष्ठले कार्यक्रमलाई शुभकामना दिनुभएको थियो । लक्ष्मण तिमिल्सिनाले परदेशी प्रियतमलाई अनुष्टुप छन्दको कविता सुनाउनु भएकाे थियाे भने त्रिलोचन आचार्यले उपजाति छन्दमा कविता झरेन शीर्षकको कविता, राधिका सापकोटाले भत्काउँ है आसन शीर्षकको शार्दूलविक्रिडित छन्दको कविता, राजेन्द्रप्रसाद भट्टराइ (रापि बाशिष्ठ)ले पिस्कर सम्बन्धी संस्कृत भाषाको कविता र मेरी इन्द्रावती शीर्षकको नेपाली भाषाको कविता सुनाउनु भएकाे थियाे ।

कवि पिताम्बर भण्डारीका सुपुत्र रामहरि भण्डारीले पिताको स्मृति ग्रन्थ प्रकाशन सन्दर्भको चर्चा गर्दै सम्बन्धित लेख रचना आह्वान गर्नुभएकाे थियाे ।

कवि तोयानाथ तिवारीले प्रकृतिको लीला शीर्षकको कविता र रत्न उप्रेतिले भष्ट्राचार शीषर्कको कविता सुनाउनु भयो । कवि दिपेन्द्र श्रेष्ठले गजल तथा साहित्यकार पत्रकार दिनेश दुलालले यस्तै छ यहाँको चलन शीर्षकको कविता सुनाउनु भयो । साथै विशेष अतिथि चन्द्रप्रसाद न्यौपानेले विभिन्न साहित्यक स्रस्टाहरुको बारेमा चर्चा गर्दै यस्तै छ यहाँ शीर्षकको गजल सुनाउनु भएकाे थियाे ।

अर्का विशिष्ट अथिति जयराम पराजुलीले कार्यक्रमको सुन्दर पक्षको चर्चा गर्दै यो कस्तो बिडम्बना शीर्षकको पञ्चायतकालमा रचना गरेको कविता सुनाउनु भएकाे थियाे भने कवि कृष्ण सुवेदी भारव्दाज मित्रले धन्यवाद प्रदान गर्दै कविता सुनाएर कार्यक्रम समापनको घोषणा गर्नु भएकाे थियाे ।