अमेरिकाद्वारा भारतीय ट्राभल एजेन्सी र एजेन्टमाथि भिसा प्रतिबन्ध
काठमाडौं, ७ जेठ । संयुक्त राज्य अमेरिकाले अवैध आप्रवासनलाई बढावा दिएको आरोपमा भारतीय ट्राभल एजेन्सी तथा तिनका एजेन्टहरूमाथि भिसा प्रतिबन्ध लगाएको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले एक विज्ञप्ति जारी गर्दै उक्त प्रतिबन्धको घोषणा गर्नुभएको हो। विज्ञप्तिमा भनिएको छ, “यो कदम अमेरिकी आप्रवासन कानुन र नीतिको कार्यान्वयन, विधिको शासनको रक्षा तथा अमेरिकी नागरिकको सुरक्षाका लागि महत्त्वपूर्ण छ।”
यद्यपि, प्रतिबन्धबाट प्रभावित हुने व्यक्ति, ट्राभल एजेन्सी वा एजेन्टहरूको नाम तथा संख्या भने विज्ञप्तिमा खुलाइएको छैन।
अमेरिकी विदेश मन्त्रालयले यो कदम विदेशी मानव तस्करीका सञ्जालहरूलाई तोड्ने प्रयासस्वरूप चालिएको दाबी गरेको छ। मन्त्रालयका अनुसार, आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको धारा २१२ (ए) (३) (सी) बमोजिम यो प्रतिबन्ध लगाइएको हो।
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा पनि अमेरिकाले अवैध आप्रवासी भएको भन्दै सन् २०२० को फेब्रुअरीमा केही भारतीय नागरिकलाई देश निकाला गरेको थियो। त्यस समयमा उनीहरूलाई हतकडी र नेलसहित अमेरिकी विमानबाट भारत फर्काइएका तस्बिरहरू सार्वजनिक भएका थिए।
नयाँदिल्लीस्थित अमेरिकी दूतावासले पनि समय-समयमा भारतीय नागरिकहरूलाई भिसाको अवधिभन्दा बढी समय अमेरिकामा नबस्न चेतावनी दिँदै आएको थियो। त्यस्ता भिसा उल्लंघनकर्ताहरूलाई देश निकाला गरिने तथा स्थायी रूपमा अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइने दूतावासको भनाइ रहँदै आएको छ।
