तिल गाउँको बाढीको कारण पहिल्याउन विज्ञ टोली हुम्ला पुग्यो
हुम्ला, ८ जेठ । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिल गाउँमा हालै आएको बाढी र पहिरोको वास्तविक कारण पत्ता लगाउन सरकारी विज्ञ टोली जिल्ला सदरमुकाम सिमिकोट आइपुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठको नेतृत्वमा गठित तीन सदस्यीय टोली बुधबार बिहान सिमिकोट पुगेको हो।
टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहार्द जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिस्ट शिवकुमार बास्कोटा पनि सम्मिलित हुनुहुन्छ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले विज्ञ टोली आजै बाढी प्रभावित क्षेत्र तिल गाउँतर्फ प्रस्थान गर्ने जानकारी दिनुभयो। “विज्ञहरुको टोली मंगलबार काठमाडौंबाट नेपालगञ्जका लागि प्रस्थान गरेको थियो,” प्रजिअ पाण्डेले भन्नुभयो, “तर हिजो मौसम प्रतिकूलताका कारण नेपालगञ्जबाट हुम्ला आउन सकेन। आज बिहान मात्रै आइपुग्नुभएको छ र आजै प्रभावित स्थलतर्फ जानुहुनेछ।”
गत जेठ १ गते राति अचानक आएको बाढीले तिल गाउँमा भौतिक क्षति पुर्याउँदा १८ घरपरिवार विस्थापित भएका छन्। विस्थापितहरू हाल अस्थायी पालमुनि बसिरहेका छन्।
स्थानीय बासिन्दाहरूले करिब ५ हजार ३०० मिटरको उचाइमा रहेका दुईवटा हिमतालबाट पानी बगेर बाढी आएको प्रारम्भिक अनुमान गरेका थिए। उनीहरू आफैं तालसम्म पुगेर स्थितिको अवलोकन गरे पनि तालको पानी के कारणले र कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रूपमा स्पष्ट हुन सकेको छैन।