अपाङ्गता भएका व्यक्तिलाई सबल बनाउन शिक्षा अनिवार्य : मन्त्री पन्त

ललितपुर, ९ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजका हरेक क्षेत्रमा सक्षम र सबल बनाउन शिक्षाको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा मंगलबार पाटनमा आयोजित ‘समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्र’ सम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा उहाँले यस्तो धारणा राख्नुभएको हो।

मन्त्री पन्तले अपाङ्गता भएका व्यक्तिहरूले अवसर पाएमा अन्य व्यक्तिसरह वा अझ बढी प्रगति गर्न सक्ने बताउँदै उनीहरूको क्षमता अभिवृद्धि र जीवनयापन सहज बनाउन शिक्षा र स्वास्थ्यको सुनिश्चिततामा सरकारले ध्यान केन्द्रित गरेको स्पष्ट पार्नुभयो।

बौद्धिक अपाङ्गताका क्षेत्रमा देखिएका सवालहरूको सम्बोधन गर्न नीतिगत व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “अपाङ्गताका क्षेत्रमा बनेका नीतिगत व्यवस्थालाई वस्तुस्थिति र सामाजिक परिवेशअनुसार व्यावहारिक रूपमा कार्यान्वयन गर्न ध्यान दिनुपर्छ। सरकार अपाङ्गता भएका व्यक्तिहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने अवसर प्रदान गर्न सचेत छ।” उहाँले समावेशी र अपाङ्गता भएका व्यक्तिहरूलाई सबल बनाउने सवालमा नेपालले अब्बल प्रयास गरिरहेको पनि बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य (शिक्षा) गीता अधिकारीले १६औँ पञ्चवर्षीय योजनामा शतप्रतिशत बालबालिकालाई शिक्षाको पहुँचमा पुऱ्याउने लक्ष्य रहेको बताउँदै गुणस्तरीय, लैङ्गिक उत्तरदायी र समावेशी शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नेपालको परिवेश सुहाउँदो समावेशी र विशेष शिक्षाको मार्गचित्र तयार गरी पछाडि परेका बालबालिकाको आवाज र आवश्यकतालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक महेन्द्रप्रसाद पराजुलीले संविधानले सुनिश्चित गरेको शिक्षामा सबैको पहुँच र निःशुल्क शिक्षाको नीतिलाई तीनै तहका सरकारले नतिजामूलक बनाउनुपर्ने बताउनुभयो।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले समावेशी शिक्षा नीति २०७३ को प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो भने नेपाल नेत्रहीन सङ्घका अध्यक्ष कलाधर भण्डारीले विशेष शिक्षा परिषद्मार्फत अपाङ्गता भएका व्यक्तिका लागि आधारभूत शिक्षा सुनिश्चित गर्न भइरहेका प्रयासबारे जानकारी गराउँदै समुदायमा आधारित समावेशी शिक्षाका लागि सबै सरोकारवालाको जिम्मेवारीपूर्ण भूमिकाको अपेक्षा गर्नुभयो।