यार्सागुम्बा सङ्कलनले विद्यालय बन्द, शिक्षक-विद्यार्थी हिमाली पाटनतिर

दार्चुला, ९ जेठ। दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको मौसम सुरु भएसँगै विद्यालयहरू बन्द भएका छन्।

शिक्षक, अभिभावक र विद्यार्थीहरू यार्सागुम्बा खोज्न लेकतिर लागेपछि गाउँपालिकाभरिका सामुदायिक विद्यालयहरू बन्द गरिएका हुन्।

गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रसिंह साउदका अनुसार, जेठ ४ गतेदेखि पालिकाभरिका २४ वटा सामुदायिक विद्यालय २० दिनका लागि बन्द गरिएका छन्। यो बन्दलाई बर्खे बिदामा मिलान गरिने र जेठ २४ गतेदेखि विद्यालय पुनः सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो। हरेक वर्ष यस समयमा जडीबुटी सङ्कलनका कारण अधिकांश विद्यालय बन्द हुने गरेका छन्।

जीविकोपार्जनको मुख्य आधार यार्सा
अपी हिमाल गाउँपालिकाका स्थानीय बासिन्दाका लागि यार्सागुम्बा सङ्कलन वर्षभरिको आम्दानीको मुख्य स्रोत हो। अन्न उत्पादन कम हुने भएकाले यहाँका बासिन्दा जेठ-असारमा सङ्कलन गरिएको जडीबुटी बेचेरै बालबालिकाको पढाइ खर्च र अन्य घरायसी आवश्यकता पूरा गर्छन्। अपी हिमाल गाउँपालिका-२ का गगनसिंह लोथ्याल भन्नुहुन्छ, “वर्षभरिको कमाइ यही यार्सागुम्बा हो। बालबालिकालाई लिएरै जानुपर्ने अवस्था छ, नभए के खानु, कसरी पढाइ खर्च जुटाउनु!” खेतबारीको उब्जनीले तीन महिना पनि खान नपुग्ने भएकाले यस्तो गर्नुपरेको उहाँको भनाइ छ। कतिपय घरपरिवार त घरमा ताल्चा लगाएरै लेकतिर लाग्ने गर्छन्।

गाउँपालिका-३ का कमलसिंह धामी पनि अधिकांश जमिन भिरालो भएकाले दुई महिना यार्सा सङ्कलन गरेर वर्षभरिको गुजारा चलाउनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “हामी अभिभावकभन्दा बालबालिकाले यार्सागुम्बा बढी भेट्टाउँछन्। निकै कष्टकर भए पनि जीविका चलाउन यसैको भर पर्नुपर्छ।”

उच्च शिक्षा अध्ययनरत विद्यार्थी पनि यार्सा सङ्कलनमा
काठमाडौँ, धनगढी, दार्चुला सदरमुकाम खलङ्गा जस्ता सहरमा अध्ययनरत विद्यार्थीहरू पनि यार्सागुम्बा सङ्कलनका लागि पाटन क्षेत्रमा पुग्ने गरेका छन्। काठमाडौँमा अध्ययनरत जय धामी वैशाख अन्तिम साता नै गाउँ फर्किएका छन्। उनी दैनिक २० देखि ३० वटासम्म यार्सागुम्बा भेट्टाउने गरेको बताउँछन्। “यार्सागुम्बा भेटिएको वर्ष आम्दानी राम्रै हुन्छ। यो वर्ष गत वर्षभन्दा राम्रो यार्सा भएकाले राम्रै आम्दानी हुने अपेक्षा छ,” उनले भने।

दार्चुला बहुमुखी क्याम्पस खलङ्गामा अध्ययनरत नौगाड गाउँपालिकाका खडकसिंह धामी पनि जेठ पहिलो साता नै यार्सा खोज्न अपी पुगेका छन्। “एक महिना यार्सा खोजेर कलेजको पढाइलाई निरन्तरता दिन्छु। घरमा जागिर नहुनेका लागि यही विकल्प छ,” उनले भने।

जोखिम र बाध्यता
यार्सागुम्बा सङ्कलन आम्दानीको स्रोत मात्र नभई जोखिमपूर्ण पनि छ। पटकपटक असिना-पानी आउने र हिमपहिरो खस्ने डरका बीच सङ्कलन गर्नुपर्ने बाध्यता रहेको सङ्कलक मानसिंह धामी बताउँछन्।

घरको उत्पादनले खान नपुगेपछि लालाबालासहित अधिकांश स्थानीय जोखिम मोलेरै पाटन पुग्छन्। १२ देखि ५० वर्षसम्मका मानिसहरू यार्सा सङ्कलनमा जाने गरेका छन्। यार्सा सिजन सुरु भएसँगै जिल्लाको मार्मा, नौगाड, व्याँस गाउँपालिकाका बासिन्दा पनि लेक उक्लिएका छन्, जसकारण कतिपय घरमा ताला लागेको छ।

सङ्कलन क्षेत्र र अनुमतिपत्र
जिल्लामा सबैभन्दा बढी अपी हिमालको लोलु, रिङ्देपानी, सतगङ्गा, कालीढुङ्गा, काटै, घट्टेखोला, धरमघर, क्षति, सातगङ्गा, चाइमटेला लगायतका क्षेत्रमा सयौँ सङ्कलकहरू पुगेका छन्। यस्तै, व्याँस गाउँपालिकाको अपिफेद, दोपाखे, दुधिवन लगायतका ठाउँमा पनि यार्सागुम्बा सङ्कलन गरिन्छ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि अनुमतिपत्र जारी गर्ने गरे पनि हालसम्म करिब ७०० जनाले मात्रै अनुमति लिएका छन्, जबकि सङ्कलकहरू लेक पुगिसकेका छन्। कार्यालय प्रमुख संरक्षण अधिकृत विनयकुमार झाका अनुसार, जिल्लाका १० वटा ठाउँबाट सङ्कलन अनुमतिपत्र जारी भइरहेको छ। कानुनी रूपमा परिचयपत्र अनिवार्य भए पनि पूर्ण पालना भएको देखिँदैन। जिल्लाबाट हरेक वर्ष पाँचदेखि सात क्विन्टलसम्म यार्सागुम्बा निकासी हुने गरेको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ।