टोखा नगरपालिकाद्वारा भगवती क्लबलाई एक करोड रुपैयाँ र भूतखेल मैदान दिने घोषणा

काठमाडौं, १३ जेठ  । गत साता सम्पन्न ‘शहीद स्मारक बी डिभिजन लिग’मा उपविजेता बनेर शीर्ष डिभिजन (ए डिभिजन) मा स्थान बनाएको श्री टोखा भगवती क्लबलाई टोखा नगरपालिकाले एक करोड रुपैयाँ आर्थिक सहयोग र अभ्यासका लागि भूतखेल मैदान उपलब्ध गराउने घोषणा गरेको छ ।

नगरपालिकाले आयोजना गरेको विशेष सम्मान समारोहमा क्लबका खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूलाई सम्मान गर्दै नगर प्रमुख प्रकाश अधिकारीले आर्थिक सहयोगको घोषणा गरे । मेयर अधिकारीले क्लबको सफलताले टोखा नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गरेको उल्लेख गर्दै आगामी दिनमा क्लबलाई आवश्यक पर्ने सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उपप्रमुख मुरारी तामांगले क्लबलाई भूतखेल खुला मञ्च प्रयोग गर्न दिने तथा एकेडेमी सञ्चालनको व्यवस्था मिलाउने घोषणा गरे ।

१३ खेलमा ७ जित, ५ बराबरी र १ हार सहित २६ अंक बटुल्दै उपविजेता बन्दै शिर्ष डिभिजन पुगेको भगवती क्लबले आगामी सिजन ए डिभिजन लिग खेल्नेछ । नगरपालिकाले क्लबका खेलाडी तथा अफिसियलहरूलाई मायाको चिनो र खेल पोसाक वितरण गर्दै थप सफलताको शुभकामना व्यक्त गरेको थियो ।