पानीका मुहान सफाइ र कुमार पूजा गर्दै सिथि नखः सम्पन्न, रातो मच्छिन्द्रनाथको भोटो जात्रा पनि आजै

काठमाडौं/भक्तपुर ११ जेठ । नेवार समुदायले आज (जेठ शुक्ल पक्ष कुमार षष्ठी) आफ्नो महत्वपूर्ण पर्व सिथि नखः धुमधामका साथ मनाएका छन् । यस दिन विशेष गरी इनार, धारा, ढुंगेधारा (ल्वहंहिटी), कुलो, कुवा, पोखरी जस्ता पानीका स्रोतहरूको सरसफाइ गर्ने परम्परा रहिआएको छ । पानीका स्रोत स्वच्छ बनाउने भएकाले सिथि नखःलाई आधुनिक समाजमा ‘पानी दिवस’का रूपमा समेत लिइन्छ । काठमाडौं उपत्यकाका विभिन्न टोलमा युवाहरूले सामूहिक रूपमा पुराना हिटी, धारा आदिको सरसफाइ गरेका छन् ।
सांस्कृतिक एवं धार्मिक महत्व
सिथि नखः भगवान शिवपार्वतीका ज्येष्ठ सुपुत्र कुमार कार्तिकेयको जन्मदिनका रूपमा मनाइन्छ । यस दिन नेवार समुदाय कुमारको पूजा गरी मास, मुगी, केराउलगायत दलहनबाट बनेका विशेष प्रकारका पकवान वः (बारा) खाने प्रचलन छ । साथै, घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (भुटेको गहुँको पिठोमा चिनी मिसाएर मुठ्ठी पारी बनाइएको रोटी), चटामरी, पापड, गहुँको मालपुवालगायत पकवान खाने चलन पनि रहेको छ ।
संस्कृतिकर्मी प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार, देवगणका सेनापति कुमारको पूजा आराधना गर्नाले वर्षात्को बेला धान रोपाइँजस्तो कृषिकार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास छ । सिथि नखः पछि नेवार समुदाय अन्य सबै जात्रापर्व थाँती राखी धान रोपाइँ (सिन्या ज्याः) मा व्यस्त हुन्छन् । “मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः” अर्थात् “मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ” भन्ने मान्यताले धानखेतीको महत्व दर्शाउँछ । यसैले सिथि नखः किसानलाई मानसिक र शारीरिक रूपले रोपाइँका लागि तयार पार्ने चाड हो ।
पानीका स्रोत सरसफाइ र स्वास्थ्य
वर्षायाममा भेल र फोहोर पानीले मुहान दूषित नहोस् भनी पानीका स्रोत र वरपर सरसफाइ गरी निकास खोल्ने गरिन्छ । हिउँदमा पुरिएको वा सुकेको मूललाई वर्षाको पानीले फुटाउने भएकाले पनि यस दिन पानीको मुहान सफा गरिन्छ । रोपाइँका लागि प्रशस्त पानी चाहिने र यो समयमा पानीजन्य रोग लाग्न सक्ने भएकाले स्वास्थ्यको ख्याल राख्दै खानेपानीका स्रोतहरू सफा गर्ने चलन महत्त्वपूर्ण मानिन्छ ।
यस दिन किसानले खेतबारीमा काम गर्न नहुने र खेतको माटोलाई चोट पुर्याउन नहुने धार्मिक मान्यता रहेकाले बिहानै घरमा रहेका गाईवस्तुको गोबर मल खेतबारीमा पुर्याई घर सफा गरेर पर्व मनाइन्छ । नेवार समाजमा यदि कसैको देवाली पूजा (देगु पूजा) छुटेको छ वा विशेष आगम देवता छैनन् भने आजकै दिन देवाली मनाउन सकिने परम्परा पनि छ ।
अन्तिम चाड र रोपाइँको तयारी
सिथि नखःलाई यस वर्षको अन्तिम चाडका रूपमा लिइन्छ, किनकि यसपछि गथांमुगः (गठेमंगल) चतुर्दशीसम्म कुनै पनि जात्रा, चाडपर्व वा मेलाहरू आयोजना गरिँदैन । यही समयमा पाटनमा रातो मत्स्येन्द्रनाथ, मध्यपुर थिमिमा पद्मपाणि लोकेश्वर र काठमाडौंमा कुमार (सिथिद्यः) जस्ता वर्षाका देवताहरूको जात्रा पनि चल्ने गर्दछ, जसले नेपालमा मनसुनको आगमनलाई संकेत गर्दछ ।
भक्तपुरमा नवदुर्गा मेला र भोटो जात्राको संयोग
सिथि नखःको अवसरमा भक्तपुर गछेंस्थित नवदुर्गा मन्दिरमा दर्शनार्थीको ठूलो मेला लागेको छ । बिहानै नुहाइधुवाई गरी भगवान् कुमार र नवदुर्गा गणको पूजा गरी विभिन्न पकवान चढाउने परम्परा छ । मल्लकालदेखि नै भक्तपुर र मध्यपुरथिमि नगरका प्रत्येक घरधुरीले आजको दिन नवदुर्गा भवानीलाई पूजा चढाउने गर्दछन् ।
यस वर्ष संयोगवश पाटनमा श्री रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र सिथि नखः एकै दिन परेको छ । प्रत्येक वर्ष भोटो जात्राका दिन क्षणिक रूपमा भए पनि वर्षा हुनैपर्ने जनविश्वास छ । किंवदन्तीअनुसार, देखाइने भोटो कर्कोटक नागराजको हो र आफ्नो भोटोको दर्शन गर्न उनी स्वयं आउँदा वर्षा हुने विश्वास गरिन्छ । विशेषगरी कर्कोटक नागराजको वासस्थान मानिने टौदहमा आजको दिन अनिवार्य वर्षा हुने जनश्रुति छ ।