बजेटपछिको पहिलो कारोबारमा ९ अर्ब माथिको कारोबार, नेप्सेमा सामान्य वृद्धि
काठमाडौं, १९ जेठ । आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ, तर कारोबार रकम भने उत्साहजनक रहेको छ।
बजेट अघिको अन्तिम कारोबारमा करिब साढे १७ अंकले बढेको नेप्से, आज भने १.६० अंकले मात्र बढेर २६९४.६६ विन्दुमा पुगेको हो। यद्यपि, आज सेन्सेटिभ इण्डेक्स ०.२१ अंक, फ्लोट इण्डेक्स ०.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंकले घटेका छन्।
नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। गत बुधबार साढे ८ अर्ब रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ३१४ कम्पनीको ८३ हजार १६ पटकको कारोबारमा कुल ९ अर्ब २२ करोड ६३ लाख २२ हजार रुपैयाँ बराबरको २ करोड २० लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ।
आजको बजारमा दुई कम्पनी – ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.३१ प्रतिशत र न्यादी हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अर्कोतर्फ, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ६.४५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो, जसको ८७ करोड ४७ लाख ३८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसैगरी, राधी विद्युत कम्पनीको ६५ करोडभन्दा बढी र युनिभर्सल पावर कम्पनीको कारोबार रकम ५४ करोड नाघेको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ७ वटाको परिसूचक बढेको छ भने ६ वटाको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.३९ प्रतिशतले बढेको छ भने लगानी उपसमूहको परिसूचक पनि २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ।