ट्रम्पले ‘मस्कका कम्पनीको अनुदान रोक्ने धम्की, मस्कले भन्याे ‘ट्रम्पलाई महाअभियोग लगाउनुपर्छ’
काठमाडौं, २३ जेठ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीचको विवाद चरम उत्कर्षमा पुगेको छ।
ट्रम्पले मस्कका कम्पनीहरूलाई दिइँदै आएको सरकारी अनुदान र सहयोग रोक्ने धम्की दिएका छन् भने जवाफमा मस्कले ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने बताएका छन्।
उनीहरूको यो विवाद मस्कले ट्रम्प प्रशासनको एक सरकारी सल्लाहकार पदबाट राजीनामा दिएपछि सार्वजनिक रूपमा छताछुल्ल भएको हो। कुनै समय एकअर्काका समर्थक रहेका यी दुई शक्तिशाली व्यक्तिहरू अहिले सामाजिक सञ्जाल र मिडियामा एकअर्काविरुद्ध आरोप-प्रत्यारोपमा उत्रिएका छन्।
विवादको सुरुवात मस्कले ट्रम्पको कर नीतिको आलोचना गरेपछि भएको थियो। यसबाट क्रुद्ध बनेका ट्रम्पले मस्कलाई ‘ट्रम्प डेरेन्जमेन्ट सिन्ड्रोम’ (ट्रम्पप्रति अनावश्यक घृणा) भएको आरोप लगाए। त्यसको जवाफमा मस्कले आफूले सहयोग नगरेको भए ट्रम्पले चुनाव जित्न नसक्ने दाबी गर्दै ट्रम्पमाथि विश्वासघातको आरोप लगाएका छन्।
विवादकै बीच, मस्कले अमेरिकामा अब नयाँ राजनीतिक पार्टीको आवश्यकता रहेको बताउँदै त्यसका लागि जनमत तयार पार्न थालेको समेत घोषणा गरेका छन्। यसले उनीहरूको व्यक्तिगत टकरावले राजनीतिक मोड लिन सक्ने संकेत गरेको छ।
ट्रम्पको धम्कीको प्रत्यक्ष असर बजारमा देखिएको छ। उनले मस्कका कम्पनीसँगको सरकारी सम्बन्ध तोड्ने चेतावनी दिएलगत्तै विद्युतीय कार निर्माता कम्पनी टेस्लाको शेयर मूल्यमा १४ प्रतिशतको गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
मस्क टेस्ला, स्पेसएक्स र सामाजिक सञ्जाल एक्स जस्ता चर्चित कम्पनीका मालिक हुन्।
ह्वाइट हाउसको ओभल अफिसमा बोल्दै ट्रम्पले आफ्नो निराशा व्यक्त गरेका छन्।