अमेरिकाद्वारा नेपालीको टिपिएस खारेज, हजारौंलाई देश फर्कनुपर्ने दबाब

काठमाडौं, २३ जेठ । २०७२ सालको महाभूकम्पपछि अमेरिकाले नेपाली नागरिकलाई दिँदै आएको ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस’ (टिपिएस) सुविधा खारेज गरेको छ।

यो निर्णयसँगै उक्त सुविधाअन्तर्गत अमेरिकामा बसिरहेका हजारौं नेपालीले आगामी अगस्ट ६ सम्ममा आफ्नो कानुनी हैसियत परिवर्तन गर्नुपर्ने वा नेपाल फर्कनुपर्ने भएको हाे ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको यो निर्णयले टिपिएस सुविधामा रहेका करिब ७,५०० देखि ८,००० नेपाली प्रभावित भएका छन्। तर, न्युयोर्कस्थित कानुन व्यवसायी बासु फुलाराका अनुसार, टिपिएस लिएका सबैजनाले तत्काल नेपाल फर्कनुपर्ने छैन। “कुनै पनि अन्य कानुनी विकल्प नभएका र अमेरिकी नियम उल्लङ्घन गरेकाहरू मात्र फर्कनुपर्छ, जसको संख्या करिब १,५०० देखि ३,००० सम्म हुन सक्छ,” उनले भने।

किन दिइएको थियो टिपिएस?
अमेरिकाले २०७२ वैशाख १२ को भूकम्पले नेपालमा पुर्‍याएको विनाशकारी क्षतिलाई मध्यनजर गर्दै २०१५ जुनमा नेपालीहरूलाई टिपिएस सुविधा दिएको थियो। यो सुविधा पाउनका लागि भूकम्प गएको दिन वा त्यसभन्दा अघि नै अमेरिकामा उपस्थित हुनुपर्ने प्रावधान थियो। सुरुमा १८ महिनाका लागि दिइएको यो सुविधा पटक-पटक नवीकरण हुँदै आएको थियो। हाल नेपालको अवस्थामा सुधार आएको भन्दै अमेरिकी सरकारले यो सुविधा बन्द गर्ने निर्णय लिएको हो।

अब के छन् विकल्प?
कानुन व्यवसायी फुलाराका अनुसार, टिपिएस खारेज भए पनि प्रभावित नेपालीहरूका लागि अन्य कानुनी विकल्पहरू खुला छन्। उनीहरूले निम्न प्रक्रिया अपनाउन सक्छन्:

  • पुरानै भिसामा फर्कने: टिपिएस लिनुअघि विद्यार्थी भिसामा रहेकाहरूले कलेजबाट आवश्यक कागजात (आई-ट्वेन्टी) बनाएर पुनः विद्यार्थी हैसियतमा बस्न सक्छन्।

  • शरणार्थी आवेदन: राजनीतिक वा अन्य कारणले असुरक्षित महसुस गर्नेहरूले शरणार्थी (Asylum) का लागि आवेदन दिन सक्छन्।

  • पारिवारिक आधार: अमेरिकी नागरिक वा ग्रीनकार्ड भएका व्यक्तिसँग विवाह गरी ग्रीनकार्ड प्रक्रिया अगाडि बढाउन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *