आर्थिक वृद्धि बढाउन भारतको केन्द्रीय बैंकद्वारा ब्याजदरमा भारी कटौती

 

नयाँ दिल्ली, २३ जेठ । भारतको केन्द्रीय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) ले सुस्ताएको अर्थतन्त्रलाई गति दिन अपेक्षाभन्दा बढी ब्याजदर कटौती गरेको छ। सुस्त मुद्रास्फीति र अमेरिकी कर नीतिको सम्भावित असरबारेको चिन्ताका बीच आरबीआईले शुक्रबार यो निर्णय लिएको हो।

आरबीआईले वाणिज्य बैंकहरूलाई दिने ऋणको मुख्य ब्याजदर (रेपो रेट) मा ५० आधार विन्दुले घटाएर ५.५ प्रतिशत कायम गरेको छ। अधिकांश विश्लेषकहरूले २५ आधार विन्दुको कटौती अनुमान गरिरहेका बेला आरबीआईले यो अप्रत्याशित कदम चालेको हो।

यो लगातार तेस्रो पटकको कटौती हो। पछिल्लो चार वर्षयताकै सुस्त आर्थिक वृद्धिदरको तथ्याङ्क सार्वजनिक भएको एक हप्तापछि बैंकले यस्तो निर्णय लिएको हो। यद्यपि, जनवरी–मार्च त्रैमासिकमा अर्थतन्त्रले ७.४ प्रतिशतको वार्षिक वृद्धिदरसहित सुधारका केही सङ्केत देखाएको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिले भविष्यमा जोखिम बढाएको विश्लेषकहरूको भनाइ छ।

खुद्रा मुद्रास्फीति ६ वर्षकै न्यून विन्दु (३.१६ प्रतिशत) मा झरेकाले आरबीआईलाई मूल्यवृद्धिको चिन्ताबाट हटेर आर्थिक वृद्धिमा ध्यान केन्द्रित गर्न सहज भएको हो।

आरबीआईका गभर्नर सञ्जय मल्होत्राले घरेलु खपत र लगानीलाई प्रोत्साहन गरी आर्थिक वृद्धिलाई टेवा दिनु ‘अत्यावश्यक’ भएको बताउनुभयो। आरबीआईले करिब पाँच वर्षको अन्तरालपछि गत फेब्रुअरीमा पहिलो पटक ब्याजदर घटाएको थियो र त्यसपछि अप्रिलमा पनि कटौती गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *