उज्बेकिस्तान र जोर्डन विश्वकपमा चयन, चिन पुनः असफल

काठमाडौँ, २३ जेठ । उज्बेकिस्तान र जोर्डनले पहिलो पटक विश्वकप फुटबल प्रतियोगितामा खेल्ने भएका छन् । दक्षिण कोरिया पनि इराकलाई २–० ले हराएर लगातार ११ औँ पटक विश्वकपमा चयन भयो तर सन् २००२ पछि पहिलो पटक विश्वकप फुटबल खेल्ने चिनको सपना यसपालि पनि साकार भएन । इन्डोनेसियासँग १–० ले पराजित भएपछि चिन विश्वकप छनोटबाट बाहिरिएको छ ।

संयुक्त अरब इमिरेट्सविरुद्धको खेल गोलरहित बराबरीमा खेलेर एक अङक आर्जन गरेपछि समूह एबाट उज्बेकिस्तान विश्वकपमा स्वतः चयन भयो । समूह बी बाट दक्षिण कोरिया र जोर्डनले अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गरे । अली ओल्वानले जोर्डनले ओमानलाई ३–० ले हराएर विश्वकपमा आफ्नो स्थान सुरक्षित पारेको हो ।

अस्ट्रेलियाले पनि पहिले नै विश्वकपमा चयन भइसकेको जापानलाई १–० ले हराएको छ । पर्थमा भएको खेमला अजिज बेहिचले अन्तिम समयमा निर्णायक गोल गरेपछि अस्ट्रेलिया पनि विश्वकप चयनको सङ्घारमा पुगेको छ ।अन्तिम मिनेटको गोलसँगै अस्ट्रेलिया लगातार छैटौं विश्वकपको लागि छनोट हुने चरणमा पुग्यो । अस्ट्रेलियाले जापानलाई १६ वर्षपछि हराएको हो ।

एसियाबाट आगामी विश्वकपमा छ टिम स्वतः चयन हुने प्रावधान रहेको छ । एसियाबाट इरान पनि विश्वकपमा पुगिसकेको छ । एजेन्सी

तस्बिर साभार ः एपी