अरहन्त र विपनालाई स्क्वास उपाधि

काठमाडौँ, २४ जेठ । प्रथम बागमती प्रेसिडेन्ट स्क्वास कप २०८२ को उपाधि शनिबार अरहन्तकेशर सिंह र विपना ब्लोनले जितेका छन् ।

अरहन्तले पासाङ ब्लोनलाई ११–८, ११–९ र ११– ९ ले हराएर पुरुष एकल र विपनाले स्वस्थानी श्रेष्ठलाई ११–५, ११–७ र ११–८ ले हराएर महिला एकल उपाधि जिते । अरहन्त र विपना ले ट्रफीसँगै १५ हजार रुपियाँ प्राप्त गरे । उपविजेता पासाङ र स्वस्थानले दस हजार रुपियाँमा चित्त बुझाए । यसैगरी पुरुष एकलमा तेस्रो हुने रोकश परियारले सात हजार, चौथो हुने प्रज्जवल प्रधानले चार हजार रुपियाँ पाए । महिला एकलमा अस्मिता नगरकोटी तेस्रो र साक्षी सुनुवार चौथो स्थानमा रहे । अस्मिताले सात र साक्षीले चार हजार रुपियाँ प्राप्त गरे ।

गल्र्स जुनियरतर्फ रेनसा महर्जन पहिलो, रचना प्रजा दोस्रो, नियुक्ति श्रेष्ठ तेस्रो र प्रतिक्षा प्रजाले चौथो स्थान हासिल गरे । नवप्रवेशी (नोभिस) गल्र्समा डोल्मा तामाङ पहिलो , अलिशा प्रजा दोस्रो, आरोही महर्जन तेस्रो र दीपिका महत चौथो स्थानमा रहे । यसैगरी ब्वाइजतफ हेलिस घिसिङ पहिलो, रेजन महर्जन दोस्रो, स्वयम श्रेष्ठ तेस्रो र क्रिश श्रेष्ठ चौथो स्थान बने ।