नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कामा भ्रष्टाचार: प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आइतबार विशेष अदालत, काठमाडौँमा उनीहरूविरुद्ध ३३ करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको हो। नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी राज्यलाई नोक्सानी पुर्याएको अभियोगमा अख्तियारले मुद्दा चलाएको हो।
अख्तियारको आरोपपत्र अनुसार, बिलिङ प्रणालीको ठेक्का प्रक्रियालाई अनावश्यक रूपमा लम्ब्याएर र सेटिङ मिलाएर भ्रष्टाचार गरिएको दाबी गरिएको छ।
प्रतिवादी बनाइएका सुनिल पौडेल यसअघि पनि अन्य भ्रष्टाचारका मुद्दामा मुछिएका व्यक्ति हुन्। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले प्रबन्ध निर्देशक पहाडी, पौडेल लगायत १८ जनाविरुद्ध मुद्दा दर्ता भएको पुष्टि गर्नुभयो।