ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगरे केही दिनमै आपूर्ति सहज हुन्छ

काठमाडौँ, २० साउन । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि सरकारले उपभोक्तालाई नआत्तिन र अनावश्यक ग्यास सञ्चय नगर्न आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै आगामी केही दिनभित्रै ग्यासको आपूर्ति पूर्ण रूपमा सहज हुने दाबी गरेको हो ।

मन्त्रालयले बजारमा फैलिएका अफवाह र भ्रमको पछि नलाग्न सर्वसाधारणलाई अनुरोध गर्दै आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न सुझाव दिएको छ ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार गत वर्षको यही अवधिको तुलनामा हाल बजारको नियमित मागभन्दा बढी परिमाणमा ग्यास आयात र वितरण भइरहेको छ । माग र आपूर्तिबीचको सन्तुलन मिलाउन नेपाल आयल निगम र ग्यास उद्योगीहरूसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

बजारमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्रता दिएको छ । ग्यासको आयात, भण्डारण र वितरण प्रक्रियालाई पारदर्शी बनाउन सुधारका काम सुरु गरिएको मन्त्रालयको भनाइ छ ।
यस्तै, मन्त्रालयले वैकल्पिक सिलिन्डर नभएका र समस्यामा परेका सर्वसाधारणलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन बिक्रेताहरूलाई निर्देशन दिएको छ ।

बजारमा कृत्रिम अभाव सिर्जना गर्ने वा उपभोक्तालाई दुःख दिने नियतले ग्यास लुकाउनेमाथि कडा कारबाही गरिने सरकारले चेतावनी दिएको छ । कालोबजारी गर्ने व्यक्ति वा संस्थालाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने विज्ञप्तिमा उल्लेख छ ।