पर्सामा २०७ किलो गाँजासहित हेटौँडाका एक पुरुष पक्राउ

काठमाडौँ, २० साउन । पर्साको बिन्दवासिनी गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले २०७ किलोग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मंगलबार साँझ बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा प्रहरीले शंकास्पद अवस्थामा रहेको एक पिकअप भ्यानलाई जाँच गरेको थियो । जाँचका क्रममा प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको पिकअपभित्र बोरामा लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको हो ।

गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले पिकअप चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामा रहेका छन् ।

प्रहरीले बरामद गरिएको गाँजा र पिकअपसहित लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।