धनुषामा सम्बन्धविच्छेदको दर बढ्दो: एक वर्षमा ५०० मुद्दा
जनकपुरधाम, २० साउन । धनुषा जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदका घटनाहरू डरलाग्दो गरी बढ्दै गएका छन् । आधुनिक जीवनशैली, वैदेशिक रोजगारी, सामाजिक सञ्जालको बढ्दो प्रयोग र आर्थिक कारणले गर्दा वैवाहिक सम्बन्धहरू टुट्ने क्रम बढेको जिल्ला अदालत धनुषाको तथ्याङ्कले देखाएको छ ।
जिल्ला अदालत धनुषाका सूचना अधिकारी हेमकुमार महतोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै सम्बन्धविच्छेदका ३३३ वटा नयाँ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १६७ सहित कुल ५०० वटा मुद्दा अदालतमा पुगेका थिए ।
तीमध्ये २८१ वटा मुद्दाको फैसला भइसकेको छ भने २१९ वटा मुद्दा अझै विचाराधीन अवस्थामा रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा पनि ३१५ नयाँ मुद्दा दर्ता भएका थिए, जसले जिल्लामा वैवाहिक तनावको ग्राफ लगातार उकालो लागिरहेको छ ।
शिक्षामा चेतनासगै महिलाको आर्थिक तथा सामाजिक अवस्थामा सुधार, वैदेशिक रोजगारीका कारण लामो समयसम्म पति–पत्नी बेग्लै रहनुपर्ने परिस्थिति, सामाजिक सञ्जालको बढ्दो प्रयोग, पारिवारिक विवाद तथा घरेलु हिंसाका घटनाले वैवाहिक सम्बन्ध अन्त्यका घटना बढिरहेको कानुन व्यवसाय राजकुमार महासेठले बताउनुभयो ।
उहाँका अनुसार गरिबी, बेरोजगारी, वैदेशिक रोजगारीबाट ल्याएको परिवर्तन, एक्लै बस्न रुचाउने जीवनशैली तथा व्यक्तिगत स्वतन्त्रताको बढ्दो चेतनाले दाम्पत्य सम्बन्धलाई नयाँ चुनौती दिइरहेको छ ।
पछिल्लो समय महिला वा पुरुष दुवैले आफूलाई अन्याय भएको महसुस गरेमा कानुनी बाटो रोज्ने प्रवृत्ति बढेको उहाँको भनाइ छ । बढिरहेको सम्बन्धविच्छेदले समाजमा एकातिर व्यक्तिगत अधिकारप्रति देखिएको जागरूकता तथा अर्कोतर्फ पारिवारिक सम्बन्धमा संवाद र सहिष्णुताको कमी हुँदै गएको सङ्केत पनि गरेको छ ।
कानुन व्यवसायी दीपककुमार विश्वकर्माका अनुसार सम्बन्धविच्छेदसम्बन्धी मुद्दा बढेसँगै अदालतमा पारिवारिक विवाद समाधानका लागि मध्यस्थताको आवश्यकता पनि बढ्दै गएको छ । समयमै परामर्श, मनोवैज्ञानिक सहयोग, वैवाहिक शिक्षा र पारिवारिक संवादलाई प्रोत्साहन गर्न सके बढिरहेको सम्बन्धविच्छेदका घटनालाई केही हदसम्म न्यूनीकरण गर्न सकिने छ ।
