‘नागरिकसँग नरम र कानुन कार्यान्वयनमा कडा बन्नू’, कार्यवाहक प्रमुखको नगर प्रहरी बललाई निर्देशन
काठमाडौँ, साउन २० । काठमाडौँ महानगरपालिकामा पदोन्नति हुनुभएका तीन जना नगर प्रहरी अधिकृतहरूलाई आज एक विशेष समारोहका बीच दर्ज्यानी चिन्ह (फुली) प्रदान गरिएको छ । काठमाडौँ प्लाजामा आयोजित सुशोभन कार्यक्रममा नगर प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका शिवलाल पौडेल र पूर्णचन्द्र भट्ट तथा नगर प्रहरी नायव उपरीक्षकमा पदोन्नति हुनुभएका रामेश्वर उपाध्यायलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र सुशासन समितिका संयोजक ख्यामराज तिवारीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र नगर प्रहरी बलका प्रमुख (वरिष्ठ उपरीक्षक) विष्णुप्रसाद जोशीले उहाँहरूलाई दर्ज्यानी चिन्ह सुशोभन गराउनुभएको थियो । हिजो (साउन १९ गते) बसेको ५५औँ कार्यपालिका बैठकले उहाँहरूलाई सम्बन्धित पदमा कायममुकायम मुकरर गर्ने निर्णय गरेको थियो ।
दर्ज्यानी चिन्ह प्रदान गर्दै कार्यवाहक प्रमुख डंगोलले नगर प्रहरीको छविले नै महानगरपालिकाको प्रतिबिम्ब झल्काउने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरी सेवामा कहिले अनुकूल त कहिले प्रतिकूल परिस्थिति आउन सक्छन्, तर जुनसुकै अवस्थामा पनि उच्च मनोबलका साथ जिम्मेवारी पूरा गर्नुपर्छ । मानवीय संवेदना र मानव अधिकारको कदर गर्दै कानुन कार्यान्वयनमा कडा र नागरिकसँगको व्यवहारमा नरम हुन म निर्देशन दिन्छु ।” उहाँले विवाद गरेर नभई नागरिकको मन जितेर सेवा प्रवाह गर्न समेत आग्रह गर्नुभयो ।
प्रहरीको वृत्ति विकासका सन्दर्भमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले नगर प्रहरी सेवालाई व्यवस्थित बनाउन पदपूर्ति समिति गठन भइसकेको र वृत्ति विकासको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो । उहाँले महानगरको अभिन्न अङ्गका रूपमा प्रहरीको साख जोगाउन अधिकृतहरूलाई आग्रह गर्नुभयो ।
त्यस्तै, सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जनस्तरमा प्राप्त विश्वासलाई कायम राख्दै सहरी व्यवस्थापनमा कटिबद्ध हुन नवनियुक्त अधिकृतहरूलाई शुभकामना दिनुभयो ।
उक्त सुशोभन समारोहमा वडा नं. २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी, वडा नं. १० का सदस्य सतिश तण्डुकार, विभिन्न विभागीय प्रमुखहरू तथा नगर प्रहरीका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।