अमेरिकाबाट थप ३७ नेपाली डिपोर्ट, बढ्दो क्रम जारी
काठमाडौँ, २५ जेठ । अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ जना नेपाली आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन्। अमेरिकी अधिकारीहरुले चार्टर्ड विमानमार्फत उनीहरुलाई नेपाल फर्काएका हुन्।
विमानस्थलस्थित अध्यागमन स्रोतका अनुसार डिपोर्ट हुनेमा ३२ पुरुष र ५ महिला रहेका छन्। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालदेखि नै आप्रवासीप्रति कडा नीति अवलम्बन गर्दै आएको अमेरिकाले भिसा नियम उल्लंघन गर्ने, अवधि सकिएपछि पनि बस्ने र आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिकलाई डिपोर्ट गर्ने क्रमलाई तीव्रता दिएको छ।
सोही नीतिअनुसार नेपालीहरुको डिपोर्ट संख्या पनि बढ्दो छ। सन् २०२५ को जनवरी २० देखि मे महिनासम्म मात्रै १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ। महिनावार हेर्ने हो भने जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली डिपोर्ट भएका अध्यागमन विभागको तथ्यांकले देखाउँछ।

डिपोर्ट हुने अधिकांश व्यक्तिहरु दलालमार्फत अवैध रुपमा अमेरिका प्रवेश गरेको हुन सक्ने अनुमान गरिएको छ।
यसअघि पनि अमेरिकाबाट नेपालीहरु डिपोर्ट हुने क्रम जारी थियो। अध्यागमन विभागका अनुसार सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली डिपोर्ट भएका थिए।
डिपोर्ट भएकाहरुलाई विमानस्थलमा मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर फर्किन दिने गरेको छ। दलाल विरुद्ध उजुरी परेमा मात्र थप अनुसन्धान प्रक्रिया अघि बढाइने बताइएको छ।
