अमेरिकामा आजदेखि नयाँ यात्रा प्रतिबन्ध लागू, १२ देशका नागरिक प्रभावित
काठमाडौँ, २६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी गरिएको नयाँ यात्रा प्रतिबन्ध आजदेखि कार्यान्वयनमा आएको छ। यससँगै १२ देशका नागरिकहरूको अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लागेको छ भने थप ७ देशका नागरिकहरूलाई आंशिक यात्रा प्रतिबन्ध लागू गरिएको छ।
पूर्ण प्रतिबन्ध लागू भएका देशहरूमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन्। यी देशका नागरिकहरूले पर्यटक, विद्यार्थी, कामदार लगायत कुनै पनि प्रकारको भिसा प्राप्त गर्न सक्ने छैनन्।
आंशिक प्रतिबन्ध भने बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूमाथि लागू हुनेछ। यी देशका नागरिकहरूलाई केही विशेष प्रकारका भिसामा मात्र रोक लगाइएको छ। उदाहरणका लागि, कसैलाई आप्रवासन भिसा नदिइए पनि पर्यटक भिसा भने प्राप्त हुन सक्छ।
राष्ट्रपति ट्रम्पले यो कदम अमेरिकी नागरिकहरूको सुरक्षा र राष्ट्रिय हितलाई ध्यानमा राखेर चालिएको बताएका छन्। उनले आतंकवाद, घृणा फैलाउने गतिविधि र आप्रवासन कानूनको दुरुपयोग रोक्न यो प्रतिबन्ध आवश्यक रहेको दाबी गरेका छन्।
ट्रम्प प्रशासनले भिसा जारी गर्ने प्रक्रियामा कडाइ गर्न पनि निर्देशन दिएको छ। विदेशी नागरिकहरूको पृष्ठभूमि र उद्देश्यको विस्तृत जाँच गरी अमेरिकी हितमाथि खतरा पुर्याउन सक्ने व्यक्तिलाई प्रवेशाज्ञा नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
