भाइलाई बचाउन भेरीमा हाम्फालेकी आशा र भगवती पनि अस्ताइन्, एकै गाउँका तीन बालबालिकाको मृत्युले शोक

जाजरकोट, २७ जेठ । भाइलाई बचाउन भेरी नदीको उर्लंदो भेलमा पसेकी दिदी र उनकी साथीको पनि डुबेर मृत्यु भएपछि जाजरकोटको नलगाडस्थित मन्मै गाउँ शोकमा डुबेको छ।

शुक्रबार भएको यो दुःखद घटनामा बेपत्ता भएकी अन्तिम बालिका, १२ वर्षीया आशा कुसारीको शव पनि सोमबार भेटिएपछि मृत्यु हुने तीनै जनाको पहिचान भएको हाे ।

यो हृदयविदारक घटनामा नलगाड–८ का १० वर्षीय महेश कुसारी, उनकी १२ वर्षीया दिदी आशा कुसारी र उनीहरूकै साथी १६ वर्षीया भगवती नेपालीले ज्यान गुमाएका छन्।

सधैँजसो भेरीमा पौडी खेल्ने उनीहरूका लागि शुक्रबारको दिन काल बनेर आयो। प्रहरीका अनुसार, सुरुमा भाइ महेशलाई भेरीले बगायो। त्यो देखेर दिदी आशा र साथी भगवतीले उनलाई बचाउन नदीमा हाम फाले, तर नियतिले तीनै जनालाई सँगै लग्यो।

भगवती र महेशको शव शुक्रबार नै भेटिए पनि आशाको शव तीन दिनको अथक खोजीपछि सोमबार भेटिँदा परिवार र गाउँलेको अन्तिम आशा पनि निराशामा बदलियो। एकैसाथ तीन सन्तान गुमाउँदा सिंगो गाउँ स्तब्ध बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *