सेयर बजारमा गिरावट, हाइड्रोपावर समूहमा भने हरियाली
काठमाडौं, २८ जेठ । लगातार दुई कारोबार दिन बढेको सेयर बजारमा बुधबार भने करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.६९ अंकले घटेर २६६४ विन्दुमा झरेको छ ।
कारोबार रकममा पनि सामान्य कमी आएको छ । मंगलबार १० अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बुधबार ९ अर्ब ९० करोडमा सीमित भयो । बजारमा १७० कम्पनीको सेयर मूल्य घट्दा ७७ कम्पनीको बढ्यो भने एक कम्पनीको मूल्य स्थिर रह्यो ।
बुधबारको बजारमा हाइड्रोपावर बाहेकका सबै उपसमूहका सूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूहको सूचक १.१३ प्रतिशतले बढ्यो । अघिल्लो दिन सबैभन्दा धेरै बढेको फाइनान्स समूह भने आज १.३१ प्रतिशतले ओरालो लाग्यो ।
त्यसैगरी, बैंकिङ ०.५१, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.०८, लगानी १.०७, जीवन बीमा ०.८४ प्रतिशतले घटे । उत्पादन ०.६१, माइक्रोफाइनान्स ०.४१, निर्जीवन बीमा ०.७१, अन्य १.५७ र व्यापार समूह ०.९२ प्रतिशतले ओरालो लागे ।
बजार घटेपनि तीन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा भने १० प्रतिशतको सकारात्मक सर्किट लाग्यो । पियोर इनर्जी, सिनर्जी पावर र बुटवल पावरको मूल्य १० प्रतिशतले बढ्यो । यस्तै, रिभर फल्स पावरको ७.६४ प्रतिशत र गुराँस लघुवित्तको ७.१४ प्रतिशतले मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा पनि आज हाइड्रोपावर कम्पनीहरूकै वर्चस्व रह्यो । राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, युनिभर्सल पावर र चिलिमे हाइड्रोपावर क्रमशः सबैभन्दा धेरै कारोबार हुने शीर्ष पाँच कम्पनी बने ।
गुमाउने कम्पनीहरुमा सप्तकोशी विकास बैंक अग्रस्थानमा रह्यो, जसको मूल्य ४.८३ प्रतिशतले घट्यो । स्वाभिमान लघुवित्तको ३.९४ र बोटलर्स नेपाल (बालाजु) को ३.८९ प्रतिशतले मूल्य घट्यो ।