१५० भन्दा बढी यात्रु बोकेको एयर इण्डियाको विमान भारतमा दुर्घटना
काठमाडौं, २९ जेठ । भारतको गुजरातस्थित अहमदाबादमा १५० जनाभन्दा बढी यात्रु बोकेर लण्डनका लागि उड्न लागेको एयर इण्डियाको एक विमान दुर्घटनाग्रस्त भएको छ।
भारतीय समाचार एजेन्सीहरूका अनुसार, विमान उड्न लाग्दा (टेकअपका क्रममा) सरदार बल्लभभाइ पटेल विमानस्थल नजिकैको मेघानी क्षेत्रमा दुर्घटनामा परेको हो।
दुर्घटनास्थलबाट आकाशमा कालो धुवाँको बाक्लो मुस्लो उडिरहेको भिडियो तथा तस्बिरहरू सार्वजनिक भएका छन्।
टाइम्स अफ इण्डिया र भारतको सरकारी समाचार एजेन्सी पीटीआईलगायतका सञ्चारमाध्यमले घटनाको पुष्टि गरेका छन्।
दुर्घटनाको कारण र त्यसमा भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।