नेप्से घट्दा पनि कारोबार रकममा उछाल, बजारमा साढे १२ अर्बको सेयर किनबेच

काठमाडौं, २९ जेठ। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.०८ अंकले घटेर २६५५ मा बन्द भए पनि कारोबार रकमले भने नयाँ उचाइ छोएको छ। आज दिनभरमा कुल १२ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।

बजार परिसूचक घटे पनि कारोबार रकम बढ्नुले लगानीकर्ताको सक्रियता कायमै रहेको संकेत गर्दछ। अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएको थियो। आज बजारमा ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको मूल्यमा गिरावट देखियो।

आज होटल तथा पर्यटन समूहका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यो समूहको परिसूचक २.१४ प्रतिशतले बढ्यो। यसैगरी, जलविद्युत र वित्त समूहमा पनि सामान्य सुधार देखियो। तर, बैंकिङ, विकास बैंक, जीवन तथा निर्जीवन बीमा लगायतका अधिकांश समूह भने राताम्य भए।

व्यक्तिगत कम्पनीहरूमध्ये चन्द्रागिरि हिल्सको सेयर मूल्यमा करिब ७ प्रतिशतको उछाल आयो भने रसुवागढी हाइड्रोपावर र तेह्रथुम पावरको मूल्य पनि करिब ६ प्रतिशतले बढ्यो। अर्कोतर्फ, गुराँस लघुवित्त र पियोर इनर्जीको मूल्यमा नकारात्मक सर्किट लाग्यो भने रिभर फल्स पावरको मूल्य पनि करिब ७ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप, सानिमा माई हाइड्रोपावर, राधी विद्युत्, युनिभर्सल पावर र बुटवल पावर कम्पनी अग्रस्थानमा रहे।