एयर इन्डियाको विमान दुर्घटना, २४१ जनाको मृत्युले विश्व उड्डयन क्षेत्र स्तब्ध

काठमाडौँ, ३० जेठ । भारतको अहमदावादमा बिहीबार एयर इन्डियाको विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित २४१ यात्रुको निधन भएको छ। यो भयानक दुर्घटनाले विश्वको नागरिक उड्डयन क्षेत्रलाई स्तब्ध बनाएको छ भने हवाई सुरक्षामा गम्भीर प्रश्नहरू खडा गरेको छ।

एयर इन्डियाको उडान नम्बर एआई-१७१, बोइङ ७८७ ड्रिमलाइनर विमान, धावनमार्गबाट उडेको केही क्षणमै विमानस्थल नजिकैको बस्तीमा खसेको थियो। दुर्घटनामा विमानमा सवार सबैको मृत्यु हुनुका साथै जमिनमा रहेका २० देखि २५ जना स्थानीयको समेत ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो दुर्घटनाले छिमेकी राष्ट्र नेपालको उड्डयन क्षेत्रलाई पनि सोच्न बाध्य बनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले यस घटनालाई विश्व उड्डयन उद्योगका लागि ‘कालो दिन’ को संज्ञा दिनुभएको छ। उहाँले भन्नुभयो, “यो भयानक दुर्घटनाले विश्वको एभिएसन कम्युनिटीलाई पुनः झस्काएको छ। यसले उडान सुरक्षा र जहाजको प्राविधिक अवस्था (एयर वर्दिनेस) मा अझ बढी ध्यान दिनुपर्ने सन्देश दिएको छ।”

विज्ञहरूले दुर्घटनाको सम्भावित कारणबारे प्रारम्भिक अनुमान गरेका छन्। नेपाल वायुसेवा निगमका पूर्व क्याप्टेन केबी पौडेलले नयाँ जहाज र अनुभवी पाइलट भएकाले मानवीय त्रुटिभन्दा प्राविधिक कमजोरीको सम्भावना बढी रहेको बताउनुभयो। उहाँका अनुसार दुवै इन्जिन फेल हुनु वा जहाजको ‘फ्ल्याप’ वा ‘स्ल्याट’ मा समस्या आउनु दुर्घटनाको कारण हुनसक्छ।

त्यस्तै, क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले १४ वर्षदेखि सञ्चालनमा रहेको ड्रिमलाइनर विमानको यो पहिलो भयानक दुर्घटना भएको बताउनुभयो। उहाँले भन्नुभयो, “ड्रिमलाइनरको सुरक्षा रेकर्ड असाध्यै राम्रो थियो। जहाजले उड्नेबित्तिकै उचाइ लिन नसकेको देखिन्छ, जसले दुवै इन्जिन फेल भएको वा चरा ठोक्किएको हुनसक्ने सङ्केत गर्छ।”

प्राधिकरणका अनुसार दुर्घटनाअघि पाइलटले आपत्कालीन अवस्था जनाउने ‘मेडे’ सन्देश एयर ट्राफिक कन्ट्रोलरलाई दिएका थिए। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमअनुसार दुर्घटनाको छानबिन भारतले गर्नेछ र त्यसको प्रतिवेदनले नै दुर्घटनाको वास्तविक कारण बाहिर ल्याउनेछ।

यो घटनाले नेपाललाई पनि हवाई सुरक्षा, विशेषगरी मनसुनको समयमा थप सतर्कता अपनाउन र जहाजहरूको प्राविधिक पक्षमा विशेष ध्यान दिनुपर्ने आवश्यकतालाई जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *