बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

बागलुङ, ३ असार । बागलुङ जिल्लाले बाल स्वास्थ्य तथा किशोर-किशोरीको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण सफलता हासिल गरेको छ।

जिल्लाभरका ६ हजार ६४७ बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप पाएका छन् भने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा ११ हजारभन्दा बढी किशोरीलाई खोप लगाइएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार, जिल्लाका १५ महिनासम्मका ३,५५२ र १६ देखि २३ महिनासम्मका ३,०९८ गरी कुल ६,६४७ बालबालिकालाई १३ प्रकारका रोगविरुद्धको पूर्ण खोप सुनिश्चित गरिएको हो।

कार्यालयका प्रमुख घनश्याम सापकोटाले नियमित खोप कार्यक्रमको सफलतासँगै यस वर्ष सञ्चालित विशेष अभियानअन्तर्गत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (HPV) खोपमा पनि उल्लेखनीय सफलता मिलेको बताउनुभयो। “विद्यालयमा अध्ययनरत ११ हजार ६२ छात्रा र विद्यालय बाहिर रहेका ११ किशोरी गरी कुल ११ हजार १७७ जनालाई एचपिभी खोप लगाइएको छ, जुन लक्षित समूहको ९८ प्रतिशत हो,” उहाँले भन्नुभयो।

यो सफलताको पछाडि जिल्लाभरि फैलिएको स्वास्थ्य सञ्जालको महत्त्वपूर्ण भूमिका रहेको छ। हाल बागलुङका २०५ खोप केन्द्र र २१५ खोप ‘सेसन’मार्फत नियमित रूपमा खोप सेवा प्रदान भइरहेको छ।

जिल्लाका १० वटै स्थानीय तह— बागलुङ, जैमिनी, गलकोट, ढोरपाटन नगरपालिका तथा बडिगाड, निसीखोला, तमानखोला, ताराखोला, काठेखोला र बरेङ गाउँपालिकामा रहेका बालबालिकालाई पूर्ण खोपको पहुँचमा पुर्‍याइएको कार्यालयले जनाएको छ।