इरानद्वारा इजरायली अस्पतालमा मिसाइल हमला, नेतान्याहुले गरे कडा प्रतिकारको चेतावनी
एजेन्सी, ५ असार । इरानले इजरायलको एक अस्पताललाई निशाना बनाउँदै मिसाइल आक्रमण गरेको छ, जसबाट अस्पतालमा ठूलो क्षति पुग्नुका साथै दर्जनौँ मानिस घाइते भएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले जानाजानी नागरिक क्षेत्र र अस्पतालमा आक्रमण गरेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “इरानको आतंकवादी शासनले बेर्शेबास्थित सोरोका अस्पतालमा मिसाइल प्रहार गरेको छ।” उनले इरानले यसको ‘ठूलो मूल्य चुकाउनुपर्ने’ कडा चेतावनी दिएका छन्।
इजरायलको आपत्कालीन सेवा म्यागन डेभिड एडोम (एमडीए) का अनुसार, आक्रमणमा परी कम्तीमा ३२ जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ।
इजरायली सेनाले पनि इरानले हालैका दिनमा दर्जनौँ मिसाइल प्रहार गरेको र जानाजानी नागरिक संरचनालाई निशाना बनाइरहेको बताएको छ।
