इजरायल-इरान द्वन्द्व चर्कियो, विश्वभर नागरिक उद्धारको दौडधुप

काठमाडाैं, ५ असार । इजरायल र इरानबीच द्वन्द्व चर्किएपछि विश्वभरका सरकारहरू आफ्ना हजारौँ नागरिकलाई सुरक्षित रूपमा फिर्ता ल्याउन दौडधुपमा लागेका छन्।

इजरायलले इरानमाथि बमबारी गरेपछि तेहरानले प्रतिकार थालेसँगै दुवै देशमा रहेका विदेशीहरूले धमाधम देश छाड्न थालेका हुन्। सरकारहरूले बस र विमानको व्यवस्थादेखि पैदलै सीमा पार गराउनेसम्मका उपाय अपनाइरहेका छन्।

बन्द हवाई क्षेत्र र निरन्तरको क्षेप्यास्त्र प्रहारका कारण उद्धार कार्य जटिल बनेको छ। धेरै देशले आफ्ना नागरिकलाई छिमेकी मुलुक हुँदै निकालिरहेका छन्।

विभिन्न देशको उद्धार प्रयास
युरोपले सयौँ नागरिकलाई स्वदेश फिर्ता गरिसकेको छ। चेक गणतन्त्र र स्लोभाकियाले बसबाट छिमेकी देश पुर्‍याएर पैदलै सीमा पार गराई १८१ जनालाई स्वदेश फर्काइएको छ। त्यस्तै जर्मनीले जोर्डन हुँदै र पोल्यान्डले विशेष विमानमार्फत नागरिक फर्काउँदैछन्।

ग्रिसले इजिप्ट हुँदै १०५ नागरिकलाई फिर्ता लगेको छ भने १४८ यात्रु बोकेको विमान बुल्गेरियामा अवतरण गरेको छ। अमेरिकी राजदूतले हवाई र समुद्री मार्गबाट आफ्ना नागरिकलाई निकाल्ने योजना बनाइएको बताएका छन्। त्यस्तै अस्ट्रेलियाले इरानबाट करिब १,५०० र इजरायलबाट १,२०० भन्दा बढी नागरिक निकाल्ने प्रयास गरिरहेको छ। तर, हवाई क्षेत्र बन्द हुँदा जमिनको बाटोबाट सानो समूहलाई मात्र निकालिएको विदेशमन्त्रीले बताएका छन्।

पाकिस्तानले इरानसँगको सीमा नाका बन्द गरेको छ, तर आफ्ना नागरिकलाई फर्कन दिएको छ। हालसम्म करिब एक हजार पाकिस्तानीले इरान छाडेका छन्। भारतले पनि इरानबाट ११० विद्यार्थीलाई आर्मेनिया हुँदै विशेष उडानमार्फत उद्धार गरेको छ।

जापानले आफ्ना नागरिक निकाल्न सैन्य विमानलाई तयारी अवस्थामा राखेको छ र छिमेकी देशमा बसमार्फत लैजाने तयारी गरिरहेको छ। न्युजिल्यान्डले इरानस्थित आफ्नो दूतावास बन्द गरी कर्मचारीलाई अजरबैजान लगेको छ। दुई देशबीचको यो द्वन्द्व सातौँ दिनमा प्रवेश गरेको छ, जसले गर्दा निकासी प्रक्रिया थप जटिल र चुनौतीपूर्ण बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *