कैलाली कारागार कैदी मृत्यु प्रकरण: किटानी जाहेरीपछि प्रहरीका सई हरजीत नाथ पक्राउ

धनगढी, ५ असार। कैलाली कारागारमा कैदीको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले एक जना प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरेको छ।
मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सई हरजीत नाथलाई प्रहरीले नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका सई नाथ मृतक हरिस सिंह पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी हुन्। नाथले दिएको उजुरीकै आधारमा जिल्ला अदालतले पालीलाई १० दिन कैद र दुई लाख जरिवानाको फैसला सुनाएको थियो।
मृतक पालीकी श्रीमती जानकी साउँदले नाथकै योजनामा कारागारभित्र श्रीमानको कुटपिट गरी हत्या गरिएको भन्दै किटानी जाहेरी दिएकी छिन्। उनले सुरुमा कारागार प्रमुखसहित पाँच जनाविरुद्ध जाहेरी दिए पनि प्रहरीले सच्याउन लगाएपछि बिहीबार नाथविरुद्ध मात्र जाहेरी दर्ता गराएकी थिइन्।
डडेल्धुराका २८ वर्षीय पालीलाई जेठ २९ गते पक्राउ गरी ३० गते धनगढी ल्याइएको थियो। अदालतले असार १ गते कैद सजायका लागि कारागार चलान गरेलगत्तै भोलिपल्ट, असार २ गते राति, उनी कारागारको बाथरुममा अचेत अवस्थामा भेटिएका थिए। सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको सोही राति मृत्यु भयो।
मृतकको शरीरमा चोटपटक देखिएकाले परिवारले योजनाबद्ध हत्याको आशंका गरेको छ। सई नाथ पक्राउ परेपछि परिवार शव बुझ्न तयार भएको छ। प्रहरीका अनुसार, शवको परीक्षण सकिएकाले परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ र घटनाबारे थप अनुसन्धान जारी छ।