तेहरानमा रहेका १६ नेपालीमध्ये ११ जनालाई भारतीय दूतावासले आइतबार उद्धार गर्ने

तेहरान, ८ असार । इरानको राजधानी तेहरानमा रहेका १६ नेपालीमध्ये ११ जनालाई भारतीय दूतावासले आइतबार उद्धार गर्ने भएको छ। दूतावासले आफ्ना नागरिकसँगै उनीहरूलाई बिहान ७ बजे तेहरानबाट बसमा कोम हुँदै मशाद लैजाने तयारी गरेको छ। मशाद इरानको उत्तरी छिमेक तुर्कमेनिस्तान नजिकको सीमावर्ती सहर हो।

तेहरानमा रहेका हरि थापाका अनुसार ११ नेपालीलाई आइतबार बिहानै जम्मा हुन ठाउँ तोकिएको छ। ‘त्यहाँबाट हामीलाई मशाद पुर्‍याउने भनिएको छ। सम्भवतः मशादबाट भारतका लागि उड्ने तयारी हुनेछ,’ उनले बताए। तेहरानबाट कोमसम्म बसमा पुग्न करिब साढे दुई घण्टा लाग्छ भने कोमबाट मशाद पुग्न झन्डै १२ घण्टा लाग्नेछ। भारतीय दूतावासका अधिकारीहरू मशादमा बसेर आफ्ना नागरिकलाई उद्धार गरी स्वदेश पठाउने कार्यमा जुटेका छन्।

इरान–इजरायल द्वन्द्व चर्किएपछि बुधबार सात नेपाली तेहरान छाडेर उत्तरी क्षेत्रको रस्ट पुगेका थिए। उद्धार हुने खबर पाएपछि उनीहरू तेहरान फर्किएका छन्। रस्ट तेहरानबाट करिब ३१९ किलोमिटर टाढा पर्छ।

उदयपुरका हरि थापा, उनका छोरा उत्सव थापा र उनकी श्रीमती गायत्री कार्की थापा आइतबार मशाद जान लागेका छन्। त्यस्तै, बुटवलका विष्णु भुसाल, बुद्धिसागर पौडेल, गणेश पोखेरल, सुमन गैरे, विष्णुप्रसाद बञ्जाडे, यज्ञ मरासिनी, राजु खनाल र ललितपुरका शिवप्रसाद भट्टराई पनि मशाद जान लागेका छन्। उनीहरू तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टमा काम गर्दै आएका थिए।

१६ वर्षदेखि इरानी रेस्टुरेन्टमा सेफको काम गर्दै आएका गणेश पोखरेलले भने, ‘म बिदामा घर जान १ असारका लागि टिकट काटेको थिएँ, तर दुई दिनअघि इजरायलले आक्रमण गरेपछि त्यो योजना रोकियो। अहिले पनि म बसेको ठाउँ सुरक्षित छ। यहाँ भइरहेको आक्रमण टीभीमा हेर्दा मात्र थाहा हुन्छ। बाहिर मान्छे हिँडडुल गरिरहेका छन्, बेला–बेला मिसाइल पड्केको आवाज आइरहन्छ।’

इरानी जेलमा रहेका पाँच नेपालीको उद्धार कहिले हुने निश्चित छैन। उनीहरूको उद्धार प्रक्रिया अघि बढाउन कतारको दोहास्थित नेपाली दूतावासले तीन जनाको ट्राभल डकुमेन्ट पठाइसकेको छ। ती हुन् दाङका गोविन्द डाँगी, मदन डाँगी र पुष्कर खत्री। अन्य दुई, महेश डाँगी र बालकृष्ण खड्कासँग भने राहदानी छ। उनीहरूलाई इरानको आवासीय कानुन उल्लंघन गरेको आरोपमा डेढ महिनाअघि प्रहरीले पक्राउ गरेको थियो। अदालतले उनीहरूको स्वदेश फर्किन आदेश जारी गरिसकेको छ।

नेपालको परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकको उद्धारका लागि भारत सरकारलाई अनुरोध गरेको थियो। नेपाल सरकारको आग्रहपछि तेहरानस्थित भारतीय दूतावासले उद्धारमा सहयोग गर्ने जनाउँदै सम्पर्कका लागि फोन नम्बरहरू सार्वजनिक गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *