यूएई जाने नेपाली श्रमिकको न्यूनतम तलब बढ्यो, अब कम्तीमा १४ सय दिराम पाउने

काठमाडौँ, १० असार । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा जाने नेपाली श्रमिकहरूको न्यूनतम पारिश्रमिकमा वृद्धि गरेको छ।

सोमबार राजपत्रमा सूचना प्रकाशित भएसँगै यो निर्णय कार्यान्वयनमा आएको हो, जसअनुसार अब अदक्ष कामदारले पनि खानासहित मासिक न्यूनतम १,४०० दिराम तलब पाउनेछन्।
सरकारको यो निर्णयपछि अब म्यानपावर कम्पनीहरूले तोकिएकोभन्दा कम तलबमा कामदार पठाउन पाउने छैनन्।

सरकारले गत जेठ महिनामा नै तलब बढाउने निर्णय गरेको थियो। यसअघि यूएई जाने अदक्ष कामदारको न्यूनतम तलब ८०० दिराम मात्र थियो। नयाँ मापदण्डअनुसार, दूतावासले तोकिएको तलबभन्दा कम सुविधा उल्लेख भएका मागपत्र प्रमाणीकरण गर्ने छैन, जसले श्रमिकको पारिश्रमिक सुनिश्चित गर्न मद्दत पुग्नेछ।

यूएईकाे नयाँ तलबमान तहअनुसार यस्तो छ:
अदक्ष कामदार: न्यूनतम तलब १,००० दिराम + खाना खर्च ४०० दिराम = कुल १,४०० दिराम
अर्धदक्ष कामदार: न्यूनतम तलब १,२०० दिराम + खाना खर्च ४०० दिराम = कुल १,६०० दिराम
दक्ष कामदार: न्यूनतम तलब १,५०० दिराम + खाना खर्च ४०० दिराम = कुल १,९०० दिराम
उच्च दक्ष कामदार: न्यूनतम तलब ६,००० दिराम + खाना खर्च ४०० दिराम = कुल ६,४०० दिराम
यो निर्णयले यूएईमा कार्यरत तथा रोजगारीका लागि जाने तयारीमा रहेका हजारौँ नेपाली श्रमिकलाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *