शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम भने ५ अर्ब ९४ करोड नाघ्यो
काठमाडाैं, ११ असार । बुधबार शेयर बजार नेप्से परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। लगातार दोस्रो दिन लगभग स्थिर रहेको बजार आज ०.३३ अंकले घटेर २६००.२० विन्दुमा बन्द भएको हो।
परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ। आज ३११ कम्पनीको १ करोड ३७ लाख कित्ताभन्दा बढी शेयर ५ अर्ब ९४ करोड २८ लाख रुपैयाँमा खरिदबिक्री भएको छ।
मोदी इनर्जीमा सकारात्मक सर्किट, जोशी हाइड्रोपावर सर्वाधिक घट्यो
आज मोदी इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको मूल्य १० प्रतिशत (३० रुपैयाँ) ले बढेर ३३१ रुपैयाँ ५० पैसा पुगेको हो। त्यस्तै, तेह्रथुम पावरको साढे ९ प्रतिशत र पञ्चकन्या माइ हाइड्रोपावरको साढे ७ प्रतिशतले मूल्य बढेको छ। अर्कोतर्फ, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.५१ प्रतिशतले घटेको छ।
कारोबारमा बुटवल पावर अग्रस्थानमा
कारोबार रकमका आधारमा आज बुटवल पावर कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ५३ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो। त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चरको ३६ करोड र राधी विद्युत कम्पनीको करिब २५ करोडको शेयर कारोबार भयो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ६ वटाको परिसूचक बढेको छ भने ७ वटाको घटेको छ। होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै १.४३ प्रतिशतले बढ्दा व्यापार उपसमूह सर्वाधिक १.०७ प्रतिशतले घट्यो।