प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता
दोहा (कतार), १५ असार । प्रधानमन्त्री केपी शर्मा ओली आज कतारको दोहा आइपुग्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उहाँ यहाँ आइपुग्नुभएको हो । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल नेपाली समयअनुसार गए राति ११ः१५ बजे हमाद अन्तरराष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो । उहाँलाई कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, उच्चअधिकारीहरू र कतार सरकारको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।
यस्तै प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीका उपसचिव चाणक पोखरेल र मञ्चका कतार अध्यक्ष चुडामणि कार्कीले पनि भ्रमण दललाई स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली शनिबार साँझ काठमाडौँबाट प्रस्थान गर्नुभएको हो । कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली असार १५ गते बिहान स्पेनको राजधानी म्याड्रिड पुग्नेछ । भ्रमणको दोस्रो दिन असार १५ गते दिउँसो भ्रमण टोली स्पेनको सेभियामा पुग्नेछ । त्यसपछि नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापनसत्रलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उहाँहरूबीच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी हुनुहुन्थ्यो ।
