लगातार तीन दिनको गिरावटमा ब्रेक, नेप्से २६ अंकले बढ्यो तर कारोबार रकम खुम्चियो
काठमाडौं, १५ असार । लगातार तीन कारोबार दिनको गिरावटपछि साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक (नेप्से) मा सुधार देखिएको छ। बजार २६.५३ अंकले बढेर २६२२.२८ विन्दुमा पुगेको हो।
नेप्से परिसूचकमा उत्साहजनक वृद्धि देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। गत बिहीबार ७ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ३२८ कम्पनीको ७ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्रीमा सीमित भयो।
आजको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, विन्ध्यबासिनी हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ। उता, जोशी हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.५७ प्रतिशत गुमाए।
कारोबार रकमका आधारमा साहस उर्जा लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको ५७ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। त्यसपछि बुटवल पावर कम्पनी र युनियन हाइड्रोपावरको उच्च कारोबार भयो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै १२ उपसमूहको परिसूचक बढेको छ। बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशतले बढ्दा विकास बैंक, लघुवित्त र अन्य समूहमा पनि १ प्रतिशतभन्दा माथिको वृद्धि देखियो।